अनलाइनमा आइफोन, घरमा डेलिभरी भयो लुगा धुने साबुन

२३ माघ २०७४, मंगलवार ०८:२०

माघ २३, काठमाडौं ।

भारतको मुम्बईमा २६ वर्षीय एक सफ्टवेयर इन्जिनियरले अनलाइन शपिङ साइट फ्लिपकार्ट मार्फत् आइफोन-८ अर्डर गरेका थिए । त्यसको लागि पैसा पनि अनलाइनमार्फत् नै भुक्तानी गरे । तर, घरमा आइदियो आइफोनको सट्टा लुगा धुने साबुन ।

तबरेज मेहबुब नाग्रलीका अनुसार उनले आईफोन-८ को लागि ५५ हजार रुपैयाँ अनलाइनमार्फत् नै भुक्तानी गरेका थिए । तर जनवरी २२ तारिकमा पानभेलस्थित निवासमा डिटर्जेन्ट साबुन डेलिभरी भएको दावी उनको छ ।

उनले आफूलाई ठगेको भन्दै फ्लिपकार्टविरुद्ध मुम्बईको बिकुला प्रहरीमा उजुरी दिएका छन् ।

बिकुला प्रहरी स्टेशनका वरिष्ठ प्रहरी निरीक्षक अविनाश शिंगटेले भनेका छन्, ‘फ्लिपकार्टले धोका दिएको र अपराध गरेको भन्दै उजुरी दर्ता गराएका छन् ।’

फ्लिपकार्टका प्रवक्ताले भने यस विषयमा अनुसन्धान गरिरहेको भारतीय समाचार एजेन्सी पीटीआईलाई बताएका छन् ।