स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने जनप्रतिनिधिहरूको ‘व्यवसाय’

२ फाल्गुन २०७४, बुधबार १२:४३

फागुन २, काठमाडौं ।

आफैं डोजर भाडामा लिएर स्थानीय तहका काम जिम्मा लिने वा डोजर भाडामा लगाएर पैसा कमाउने अर्घाखाँचीका स्थानीय जनप्रतिनिधिहरूको ‘व्यवसाय’ नै बनेको छ । जिल्लाको सितगंगा नगरपालिकाका उपप्रमुखमा माओवादी केन्द्रका तर्फबाट निर्वाचित टीका रेश्मी मगरले आफूले डोजर भाडामा लिई नगरपालिकाभित्रको सडक निर्माणमा लगाएका छन् ।

  • सितगंगा नगरपालिका १० का वडाध्यक्ष हिम्मत पोख्रेल,
  • ५ का कमल पौडेल,
  • १२ का बाबुराम गैरे
  • र ९ का भीम केसीले आफैं डोजर किनेर नगरपालिकालाई भाडामा लगाएका छन् ।
  • वडा नम्बर ३ का अध्यक्ष हेमनाथ भुसालले डोजर भाडामा लिएर चलाइरहेका छन् ।

विकास बजेटको ठूलो रकम सडक निर्माणमा विनियोजन गर्ने र त्यसपछि काम आफैंले गरेर रकम कुम्ल्याउने ध्याउन्नमा जनप्रतिनिधि नै लागेका छन् ।

सितगंगा नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु.६३ करोड १५ लाख ९४ हजार बजेट छुट्याएको छ । त्यसमध्ये रु.१४ करोड २५ लाख प्रशासनिक खर्च हो भने बाँकी विकास खर्च । नगरपालिकाले आन्तरिकतर्फ रु.२ करोड ४६ लाख उठाउने लक्ष्य राखेको छ, बाँकी ६१ करोड सरकारी अनुदान हुनेछ ।

  • अनुदानतर्फको बजेटबाट नगरस्तरीय ठूला सडक आयोजनाका नाममा रु.५ करोड र साना सडक निर्माणका लागि रु.४ करोड छुट्याइएको

 

त्यस्तै आन्तरिकतर्फको रु.२ करोड ४६ लाखमध्ये रु.५१ लाख ७६ हजार पनि सडक निर्माणमा छुट्याइएको छ । नगरपालिकाले सडक निर्माणमा छुट्याएको बजेट मात्र करीब रु.१० करोड छ ।

  • अर्घाखाँचीकै छत्रदेव गाउँपालिका १ का वडाध्यक्ष प्रकाश पन्थी, २ का वडाध्यक्ष राजेश पन्थी र ३ का वडाध्यक्ष कमल पौडेलले डोजर किनेर गाउँपालिकाबाट सडक निर्माणको जिम्मा लिएका छन् ।

यसैगरी, सन्धिखर्क नगरपालिका १ का वडाध्यक्ष युवराज बञ्जाडेले प्रतीक्षा निर्माण सेवाका नामबाट नगरपालिकाको कृषि भवन निर्माणको ठेक्का लिएका छन् । वडा नं. ८ का अध्यक्ष ईश्वरी पौडेलले डोजर भाडामा लिएर आफैं सञ्चालन गरेका छन् ।

यस्तै, वडा नं. ९ का अध्यक्ष नारायण खनालले पनि युवराज श्रेष्ठ र मणि पौडेलसँगको साझ्ेदारीमा डोजर सञ्चालन गरेका छन् भने वडा नं. १० का अध्यक्ष खगेश्वर पन्थीले पनि डोजर भाडामा लिएका छन् ।