‘मेयर कप’ अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

२० माघ २०७४, शनिबार ०३:३४

माघ २०, काठमाडौं ।

चितवनमा पहिलोपटक ‘मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल’ प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नं. २२ को आयोजनामा यही माघ २७ गतेदेखि फागुन १ गतेसम्म पर्यटकीय नगरी पटिहानीमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

वडा अध्यक्ष विष्णुराज महतोका अनुसार प्रतियोगितामा

  • बंगलादेशको राष्ट्रिय महिला भलिबल टिम र
  • भारतको फ्रेन्च क्लब कोलकत्तासहित
  • नेपालका विभागिय टोली एपीएफ,
  • नेपाल पुलिस क्लब,
  • त्रिभुवन आर्मी क्लब,
  • श्चिमाञ्चल भलिबल संघको टिम
  • र न्यू डाईमण्ड एकेडेमी काठमाडौंको सहभागिता रहनेछ ।

प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समापन गर्ने कार्यक्रम तय भएको वडाध्यक्ष महतोले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने प्रचार(प्रसार समितिका संयोजक रामहरि सेढाईंले बताए ।

यस्तै, तेस्रो हुने टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्रसान्त्वना हुने टिमले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार रुपैयाँ र अन्य चार विधामा उत्कृष्ट हुने खेलाडीले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न २७ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएको छ ।

पर्यटकीय नगरी पटिहानीमा यसअघि पद्मोदय युवा क्लवले अन्तर्राष्ट्रिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको थियो ।