प्रदेश १ मा लिम्बुवान सांसदले भोट नहाल्ने

२४ माघ २०७४, बुधबार ०८:०५

माघ २४, काठमाडौं ।

प्रदेश १ मा पनि अन्य प्रदेशमा जस्तै बुधबार बिहान देखि राष्ट्रियसभाका लागि मतदान सुरु भएको छ । संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ ।

प्रदेश १ मा राष्ट्रिय सभाका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गर्नेछन् । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ ।


प्रदेश १ का कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत छ भने कांग्रेसका २१ प्रदेश सांसद छन् । बाँकी ५ जना अन्य दलका छन् ।

नेपाली कांग्रेसले कुनै पनि दलहरुसँग गठबन्धन नगरी चुनावमा भाग लिने कांग्रेसका प्रदेश सांसद केदार कार्कीले बताए ।

प्रदेश १ मा खुल्ला तर्फका केही सदस्यहरु निर्विरोध भइसकेका छन् ।

बुधबार ३ बजेसम्म हुने प्रदेश १ को राष्ट्रियसभा चुनावमा दुई पक्षका उम्मेदवारहरु वीच मतदान भइरहेको छ ।

वाम गठबन्धका तर्फबाट दलित कोटामा खेम नेपाली र अल्पसंख्यकमा अगम बान्तवा उम्मदेवार छन् भने कांग्रेसबाट प्रतिस्पर्धीका उम्मेदवारहरु दलित कोटाबाट दिल विश्वकर्मा र अल्पसंख्यकबाट महेश जाजु चुनावी मैदानमा छन् ।

  • संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसदले भोट नहाल्ने

विराटनगरमा जारी राष्ट्रिय सभा सदस्य चुनावमा संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसदले भोट नहाल्ने भएकी छिन् ।

प्रदेश १ मा एकजना मात्रै समानुपातिक सांसद भएको संघीय लिम्बुवान मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले पार्टीको निर्णय नै भोट नगर्ने भएकाले वाम र लोकतान्त्रिक कतै पनि भोट नगर्ने बताएकी छिन् ।

मञ्चका अध्यक्ष कुमार लिङ्देनले आफ्नो पार्टीले तीन कारणले भोट नहाल्ने बताए । पुँजीवाद र साम्यवादवीचको संघीय सहअस्तित्ववाद आफ्नो सिद्धान्त भएकाले सैद्धान्तिकरुपमा वाम र लोकतान्त्रिक कुनै पनि पार्टीमा भोट नहाल्ने उनले बताए ।

कुनै पार्टीले भोट माग्न आधिकारिक छलफल नगरेकाले पनि भोट नहालिएको लिङ्देनले बताए ।