निर्वाचन परिणाम नदिएर निर्वाचन आयोगले गलत गरेको अध्यक्ष ओलीको ठहर

२६ पुष २०७४, बुधबार १०:१७

पुष २६, काठमाण्डौं ।
प्रतिनिधिसभा निर्वाचन परिणाम नदिएर निर्वाचन आयोगले गलत गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको ठहर छ ।

बुधबार दिउँसो नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक उड्नु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संञ्चारक्रर्मीहरुसंग अध्यक्ष ओलीले निर्वाचन आयोग पनि ‘ब्ल्याकमेलिङ’को शिकार भएको धारणा व्यक्त गरेका छन् । जनमतको अपमान गर्दै सरकार गठन प्रक्रिया रोकेको भन्दै उनले सरकारको पनि आलोचना गरे । राष्ट्रियसभा निर्वाचनका लागि समय अनावश्यक लम्बाइएकामा पनि उनको आपत्ति थियो । अध्यक्ष ओलीले विभिन्न बहानामा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता रोक्न प्रयास भएपनि त्यो सफल हुन नदिने बताए । उनले पार्टी एकताका लागि धेरै प्रक्रिया अघि बढिसकेको भन्दै अब कुनै प्रतिक्रियावादी शक्तिले एकता भाँड्न नसक्ने दाबी गरे ।ओलीको साथमा उनकी श्रीमती, भतिजालगायत बैंकक गएका छन् । उनी एक सातापछि स्वदेश फर्कने जनाइएको छ ।