डोल्पाको ग्रामीण गाँउहरुमा खाद्यन्न संकट सुरु

२५ पुष २०७४, मंगलवार ०९:२२

हिमालय शाही
पुस २५, डोल्पा ।

सरकारले जिम्मा दिएको ठेकेदारहरुले तोकिएको समयमा ढुवानी गर्न नसक्दा डोल्पाको ग्रामीण गाँउहरुमा खाद्यन्न संकट सुरु भएको छ ।

सरकारले आर्थिक वर्ष ०७४ र ७५मा डोल्पाको लागि २८ हजार क्वीन्टल खाद्यन्न चामल बिनियोजित गरेको थियो । नेपाल खाद्य संस्थानले दुनैमा ४ हजार क्वीन्टल र जुफालमा ३ हजार क्वीन्टल चामल आपुर्ति गर्न टेण्डरमार्फत सिद्धार्थ ढुवानी, जयदुर्गे ढुवानी र बिसी ढुवानी सेवालाइ जिम्मा दिएको थियो ।

माघी पर्व नजिकिदैं गर्दा तत्काल चामल आपुर्ति गर्न ठेकेदारहरुलाई दवाव स्वरुप नेपाल खाद्य संस्थान डोल्पाले पत्राचार गरेको जानकारी लेखापाल रणबहादुर एैडीले गराए । ‘भदौमा ५० प्रतिशत चामल ढुवानी भइसक्नुपर्ने थियो । ठेकेदारहरुको लापरवाहीको कारण खाद्यन्य संकट सुरु भइसक्यो,’उनले भने ।

नेपाली सेनाले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ र ९ मा पर्ने सिउडेनी धाउने र सिरबिण्डे सडक खण्डको चटाने भीर बिष्फोट गराएका कारण ढुवानीमा समस्या आएको जानकारी ठेकेदारहरुले गराएका छन् ।