पुस २५, काठमाडौं । सोमबार राती पक्राउ परेका गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन सुरु भएको छ । अदालतको मानहानी गरेको आरोपमा सोमबार पक्राउ परेका डा. केसीको रिहाइ र सर्वोच्च अदालतको फैसला खारेजीको माग गर्दै मंगलबार बिहानैबाट प्रदर्शन सुरु भएको हो ।
सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् ।
प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । त्यसैगरी कलाकारहरु अमृत गुरुङ, गिरिश खतिवडा, निर्मल शर्मालगायत कलाकारसमेत केसीको समर्थन गर्न माइतीघरमा भेला भएका छन् । प्रहरीले अहिले सर्वोच्च अदालत वरपर कडा सुरक्षा दिइरहेको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार अनसनमा बसेका थिए ।
अनसनलगत्तै सर्वोच्चले उनलाई सोमबार राति पक्राउ गरेर सिंहदरबारस्थित प्रहरी कार्यालयमा राखेको थियो । मंगलबार अदालतमा उपस्थित हुन आदेश दिएको थियो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले अनशनरत डा। गोविन्द केसीलाई विना जानकारी प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका देउवाले आफूलाई कुनै जानकारी नगराई पक्राउ गरेको विषयमा आफ्नो असहमति रहेको बताए ।
