हैसियत अनुसारको बिहे

२३ पुष २०७४, आईतवार १६:२५

            रमेश शुभेच्छु

 

भर्खरै बेलायतका राजकुमार र अमेरिकी नायिकाबीच इन्गेजमेन्ट भयो । हामीले चासोसाथ उनीहरुलाई तस्बिरमा हे¥यौं । समाचारमा पढ्यौँ । हामीलाई लाग्यो कति सामान्य ढङ्गले इन्गेजमेन्ट सम्पन्न भएको । एउटा औंठी हातमा लगाएर क्यामरातिर उभियो कर्म सकियो । आखिर कति सजिलै हामीले भन्ने गरेको फूलमाला सम्पन्न हुँदो रहेछ । हाम्रामा भने विवाह कर्म भन्ने वित्तिकै साधारण मान्छे पनि टुप्पैबाट पलाएकाझैं लाग्छन् । बिहेअघि इन्गेजमेन्ट पार्टी भनेर सयौं जना बोकेर दुलहीको घरतिर जान्छन् । दुली परिवारको ढाड सेकाउँदै अनावश्यक तडभडक देखाउँछन् । आलु खाएर पेडाको धाक लगाउन मन गर्ने हाम्रो जस्तो समाजमा यस्ता कुरा गर्नु पनि वाहियात लाग्न सक्छन् । यहाँ विवाहको फूलमालामा एउटा बारीको पाटो बेचेर, त्यसरी बेच्ने बारी नभए, आफ्नो औकातले नभ्याए ऋण काढेरै भए पनि इङ्गेजमेन्ट पार्टी, बिहेको पार्टी आदि दिन्छन् । पार्टी नगर्ने भन्ने कुरै हुन्न ! यी अवस्थाकै वीच पनि हामीले विवाह उत्सव लगायत समग्र पर्व मनाउँदा सिक्नु र सुधार गर्नुपर्ने पक्षहरु धेरै छन् ।

आज हुने अधिकांश विवाह मागी भन्दा पनि प्रेमविवाहका रुपमा स्थापित हुन थालेका छन् । यस्तो अवस्थामा अब विहे गर्ने वर–वधुले नै आफ्नो विहे कसरी र कति खर्च गरेर गर्ने भनेर आफैँ निर्णय गर्नुपर्छ ।

बेलायती राजकुमारको इन्गेजमेन्टको सामान्यपन बाहिर मिडियामा देखिने मात्र पनि हुन सक्छ । एउटा रिङ लाएर इन्गेजमेन्ट गर्ने राजकुमार भनेर चिनिन पनि त्यसो गरेका हुन सक्छन् । उनले यसो गर्नुमा जनताको मन जित्ने काइदा मात्र पनि हुन सक्छ । ठूला मान्छेबाट आम मानिसले सकारात्मक सन्देश पाउन भन्ने पनि हुनसक्छ ? दरबारभित्र हुने तामझाम त्यहाँ पनि भयो नै होला ? जनताको करबाट मनाउने राजकीय भोजभतेर चलेन होला भन्न सकिँदैन । उनकी प्रेमिका छोडपत्र गरेर दोस्रो विवाहका लागि तयार बनेकी हुन् । यहाँ केही विकृत पक्ष पनि छन् नै । विवाह गर्नु कुनै ठूलो कुरा पनि होइन तर उनको सञ्चारमाध्यममा देखिएको व्यवहार अनुकरणीय छ । यसबाट हामीले केही सिक्नैपर्छ ।   हाम्रै समाजमा पनि अब विवाह पुरानो अभिभावकले गरिदिने संस्कार रहेन । अठार बीस वर्ष पुगेपछि मात्र विवाह हुने कानुनै बनिसकेपछि विवाह गर्ने उमेद्वारलाई केटाकेटी भन्न मिल्दैन । उनीहरु युवायुवती हुन् । युवा उमेर जिम्मेवार उमेर हो । मानव विकासको परिपक्व उमेर हो । आज हुने अधिकांश विवाह मागी भन्दा पनि प्रेमविवाहका रुपमा स्थापित हुन थालेका छन् । यस्तो अवस्थामा अब विहे गर्ने वर–वधुले नै आफ्नो विहे कसरी र कति खर्च गरेर गर्ने भनेर आपैm निर्णय गर्नुपर्छ । साधारण परिवारका युवायुवतीले आफूले विहे गर्नु २, ४ वर्ष अघिदेखि नै आफ्नो आम्दानीबाट बचत गरेर बिहे खर्च जुटाउँनुपर्छ । बाबुआमा वा अन्य अभिभावकको भर पर्नुहुँदैन । अभिभावकले पनि यस्ता कुरामा सन्तानलाई जिम्मेवार बनाउन सक्नुपर्छ ।

चेतना अभावका कारण यस समाजका बाबुआमा देखासिकीमा फसिरहेका छन् । सके खर्च गरेर सन्तानको विहावारी गरिदिन्छन् नसके ऋण काढेर बन्दोबस्त गरिदिन्छन् । यसो गरेपछि वरवधुलाई पनि पैसा कहाँबाट आउँछ भने चिन्ता नै रहँदैन । बाबुआमासँग मागिदिए भइगयो । यस्ता कपडा र उस्ता गहना भनेर! झन् केटापट्टिकाले त आफ्ना परिवारका सदस्यलाई दुलही पक्षले सुनैसुनका गहना दिउन् भन्ने कामना गर्छन् । दुलान फर्काउन आउने दुलही पक्षकाले यस्तै अपेक्षा गर्छन् । यसले युवा पुस्तालाई गैरजिम्मेवार र परनिर्भर बनाउँदै लगिरहेको छ । परिवारलाई अनावश्यक आर्थिक भार र ऋणमा डुबाउँदै लगिरहेको छ । यस महामारीबाट मुक्तिको उपाय खोज्न ढिला भइसकेको छ ।
वर्तमान परिप्रेक्षमा विवाह पर्व गहना र सम्पति प्रदर्शन पर्व भइसकेको छ । विद्यमान विवाह संस्कारमा परिवर्तन नगरे समाजै दुर्घटित हुने अवस्था देखिँदैछ । विदेशबाट सिको गरे पनि राम्रा कुराको सिकोे गर्नुपथ्र्यो । हामी आडम्बरका नयाँ–नयाँ उपाय खोजेर बसेका छौँ । विवाह मात्र होइन जन्मदिन, ब्रतबन्ध, गुन्युचोली, बेलविवाह, अन्य अधिकांश चाडपर्व आदि कर्तामा फजुल खर्चको मार पर्छ भने आफन्त र साथीभाइलाई उपहार किन्दाकिन्दै हैरान । आफन्तको महत्व पनि उपहारअनुसार हुन थालेको छ । नेपाली जस्तै अरबीहरु यस किसिको संस्कृतिको मारमा अझ बढी परेका देखिन्छन् । उनीहरुको उपहार शैलीको सिकोे र विश्वका सम्पन्न मुलुकका संस्कार संस्कृतिको सिको हाम्रा लागि घातक र मन्द विष नै हो । यसो गर्दा हुनेखानेलाई ठिकै होला हुँदाखानेहरुलाई पर्नु मार पर्छ । गाउँघरमा कसले कस्तो उपहार दियो भनेर लेखेरै राख्ने चलन छ । आफ्नो वा आफ्नो परिवारको सदस्यको विवाहमा जति र जत्रो उपहार दियो उसको विवाहमा त्योभन्दा महँगो र ठूलो उपहार दिने संस्कृति विकास भइसकेको छ । यसले विवाहमा जाने कि नजाने भन्ने सम्मका समस्या निम्न वर्गीय परिवारमा ल्याउँछ । कतिपय सहरउन्मुख गाउँमा सुट वा साडी र गहना नभएका कारण जन्त जान वा विवाहको पाटीमा सहभागी बन्न नपाएको जस्ता घटना पनि सुन्नमा आएका छन् । यस समस्यालाई अभिभावकले भन्दा युवाहरुले नै बुझ्न र व्यवहारमा लागू गर्न सक्नुपर्छ ।

उपहार शैलीको सिकोे र विश्वका सम्पन्न मुलुकका संस्कार संस्कृतिको सिको हाम्रा लागि घातक र मन्द विष नै हो ।

प्रिवर्तन एकैचोटि सम्भव छैन । विवाह दुई व्यक्तिको मेल वा जैविक आवश्यकता मात्र नभएर परिवारको सम्बन्ध स्थापना पनि हो । यसमा अवश्यै परिवारका आफ्ना रीतिथिति, मानमनितो आदि रहन्छन् तर ऋणै गर्नुपर्छ भन्ने केही छैन । केही विशिष्ट मानिसले चिया कफी खुवाएर बिहे गरेका घटना पनि छन् । केहीले मञ्चमा विवाहसंस्कारबारे छलफल गरेरै प्रगतिशील ढङ्गले पनि विवाह सम्पन्न गरेका छन् । यो अवस्था भने औँलामा गन्न सकिनेमै सीमित छ । लेखकले पुस्तक विमोचनसहित, संगीतकर्मीले एल्वम विमोचनसहित, चित्रकारले चित्रकला प्रदर्शनीसहित, डक्टरहरुले रक्तदान वा निशुल्क स्वास्थ्य शिविरको उद्घाटनसहित विवाह गरे के फरक पर्छ ?   हुँदाहुँदा बिहेअगाडि भोज गरेर केटीले केटापक्ष र केटाले केटीपक्षका धेरैलाई टीका लगाएर सुनको औंठी दिएको पनि देखियो । हाम्रो समाजमा विकृत संस्कृति र गलत भावनाको बिकास भइरहेको छ । हामीले हिन्दी फिल्म र सिरियलहरुको अनावश्यक नक्कल गरेर आफ्नो हैसियत गुमाइहाल्नु पर्देन । घाँटी हेरेर ननिलिएको हाड अड्कन सक्छ । आफू बाँच्ने भन्दा पनि अरुको लागि देखाउन विहेको नाटक मञ्चन भइरहेझैँ लाग्छ । यथार्थ मञ्चमा भन्दा बढी नेपाथ्यमा छ । उपहारशैलीलाई आफ्नो रुचि र कर्मक्षेत्रअनुसार फरक ढंगले पनि प्रयोग गर्न सकिन्छ । वरबधु लेखक रहेछन् भने पुस्तक, डायरी कलम आदि उपहार दिने, कलाकार रहेछन् भने बाजा, कुची, रड., गीति एल्बम आदि उपहार दिने, उनीहरुको रुचिक्षेत्र र अवस्था हेरी शुभकामना पत्र वा कार्ड दिने । यसले हामीलाई सभ्य र सम्यमित बनाउँछ । साथीभाइबाट उपाहर नभइ आशीर्वाद र शुभकामना मात्र लिने गर्न सके पनि राम्रो हुन्छ । विवाहको बलियो पन आन्तरिक सम्बन्धमा हुन्छ बाहिरी देखावटमा होइन । एकअर्काको प्रेममा हुन्छ वस्त्र गहना र उपहारमा होइन ।

 

नेपालको परिप्रेक्ष्यमा राणा कालीन धनाढ्य समाज र त्यसपछि विकसित गणतन्त्रसम्मको राजतन्त्र कालीन कुलीन वर्गीय समाजले अनेक विकृति भित्र्याउने काम ग¥यो । गणतन्त्रपछि छोटे राजकुमार राजकुमारीहरुले यस किसिमको कुप्रथालाई निरन्तरता दिँदै आए । भ्रष्टकर्मचारी, दलाल, ठेकदार, विचौलिया र नेताहरुले थप हौसला दिए । नचाहिँदोे सिको गरेर युवाहरु ४–५ दिन मंगनी, मेंहँदी, स्वयम्भर, जन्ती, मुखहेर्ने, सम्धीभेट, दुल्हन फर्काउने आदिमा भुलेका छन् । यसले दुई परिवारमा चिनापहिचान गराए पनि आर्थिक र सामाजिक आडम्बरका दृष्टिले नकारात्मक प्रभाव पारिरहेको छ । बिहे सकिएपछि त्यो ऋण कसरी तिर्ने भन्ने संकट पैदा गरिदिएको छ । नब बरबधुलाई नै विवाहको पाटीपछि समाजमा निस्किनसक्नु भएको छ ।   हामी विदेशीका राम्रा कुरा र चालचलन हतपत सिक्दैनौ । तडकभडक र कोरा मनोरञ्जनात्मक संस्कृति भने जताको पनि सिकिदिन्छौ । सिक्नासाथ प्रयोगमा पनि ल्याइहाल्छौ । कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि भनेझैं भएको छ पछिल्लो नेपाली संस्कृतिको विकास । जसले जस्तो मन लाग्छ तेसै गर्छ्न । ऋण नपरी कमाउन नजान्ने भनेजस्तै भएको छ हाम्रो आर्जन र खर्चको गति । अधिकांश युवायुवतीको उर्जावान् समय विवाहको ऋण तिर्दातिर्दै बितिरहेको छ । धेरै त फजुल खर्चकै ऋणमा डुबेका छन् । सन्तान थरि थरिका, कसको के लाग्छ ? आडम्बरका कारणले दाइजो प्रथाको विकास र नारी हिंसाका फरक फरक बाटाहरु खुलिरहेका छन् । समानताको कानुनको उपहास भइरहेको छ । गहना र नयाँ साडी नहुन्जेल छिमेकीका घरका कार्जेमा प्रवेश गर्न अफ्ठ्यारो पर्ने स्थिति सिर्जना भइराखेको छ ।

विकृत संस्कृतिमा उच्च र मध्यम वर्ग समाजमा मन्द विष छर्किरहेछ । अरुको नचाहिँदो कुरा सिक्ने, गर्ने ,मन परे अन्धभक्त हुने नपरे खोइरो खन्ने,अर्काको प्रगति देख्न नसक्ने, आफू माखो नमार्ने । निम्नवर्गीय सोझासाझा मान्छे जस्ले धेरै तडक भडक गरो उस्कै गुनगान गाउने । यो मानेमा सचेत बौद्विक बर्ग पनि नराम्ररी चुकेको छ । जान्ने बुझ्नेले नै गलत संस्कृति पछ्याउँदै गएपछि अरुले कसरी राम्रा कुरा सिकून् ?
विदेशमा विवाह एक पटक मात्र नभएर दुई चार दश जति पटक पनि हुन सक्छ । त्यस कुराले त्यताका केटाकेटी बढी सचेत हुन्छन् । विबाह भनेको जिन्दगीमा एक पटक मात्र हुने पबित्र कार्य हो भन्ने मान्यताले पनि हामीलाई फजुल खर्ची बनाएको छ । हामीकहाँ “इन्गेजमेन्ट“ को परम्परै थिएन । मेहन्दी र दुलान फर्काउने तामझाम पनि थिएन । सम्धी भेटको आफ्नै गरिमा थियो । इन्गेजमेन्टलाई सामान्य जनै सुपारी भनेर कुरा छिन्ने काम हुन्थ्यो । दुलान फर्काउन एक जना साथी लिएर गए पुगिहाल्थ्यो । अहिले यो विकृत संस्कृति बन्दैछ र महामारी बनेर फैलँदैछ । यससको मारमा बेहुली पक्षका अभिभावकहरु परिरहेका छन् । पुत्री जन्मप्रति घृणा र भ्रुणहत्यासम्मका घटना घट्न थालेका छन् । यसको प्रभाव जात र धर्मअनुसार सबैमा घातक बनेर फिजिएको छ । अन्ततः लैङ्गिक विभेद र हिंसाको जग बनिरहेको छ । यो समाज विकासको घातक पक्ष हो ।

अनावश्यक संस्कृति भित्रिनाले एक दिनमा सम्पन्न हुने विवाह सात सात दिन लम्बिन थालेको छ । पार्टी भोजअनुसार घरबार बन्ने सपना देख्न थालेका छन् नवयुवायुवतीहरु । जग्गा बेची बेची, ऋणा खोजी खोजी विवाह गरिरहेका छन् । बधुपक्षका अभिभावकले छोरीलाई पढाएँ सक्षम बनाएँ भनेर धर पाएका छैनन् । पढाइअनुसारकै दाइजो भराएर मात्र छोरी अन्माउने बाध्यता छ । यस किसिमको कुसंस्कृतिलाई अबका युवा पुस्ताले चिर्नैपर्छ । छोरीका विवाहमा लागेको ऋणका कारण आत्महत्या गर्ने बाबुहरुको संख्या पनि ठूलै भइसकेको छ । दाइजोका लोभमा छोराको विवाहमा ऋण गर्ने र छोराछोरी घर छोडेर सहर पसेपछि आत्महत्या गर्ने बाबूहरु पनि थुप्रै छन् । वृद्धश्रममा शरण लिनु त सामान्य भइसकेको छ । बढी दाइजो लिएर वा सम्पन्न केटासँग विवाह गरेर आर्थिक दुनो सोझिएपछि छोड्पत्र गर्ने युवायुवतीको लाइन पनि लामै छ । छोरीको विवाह सिध्याएर एउटा धनाड्य केटो पछ्याएर हिँड्ने आमाहरुको संख्या पनि बढ्दो छ । बिहे लगत्तै केटाको हैसियत थाहा पाउनासाथ छाडेर हिँड्ने केटीको लाम पनि लामै छ ।    अर्थसंयम र दिगो दाम्पत्यकै लागि पनि अबको पुस्ताले आफूले जत्रो सकिन्छ त्यत्रो मात्र विवाह गर्नुपर्छ । विवाहका नाममा पैतृक सम्पतिको दुरुपयोग गर्नु हुँदैन । विवाहमा धनीजस्तो देखाएर वास्तवमै धनी भइने होइन । धेरै साथीभाइलाई धेरै भेराइटी खुवाएर विवाह सम्बन्ध बलियो बन्ने पनि होइन । हामीले विवाह पार्टी सकिएको भोलिपल्ट आउने संकट आफ्नै संकट हो । अबका केटाकेटीले विवाह कसरी गर्ने भन्ने छलफल गरेर दुई जनाको कमाइको साझेदारीमा हैसियतअनुसारको विवाह गर्नुपर्छ । छोरीलाई ओड्ने ओछ्याउने र फर्निचरसहित अन्माउने परम्पराको अन्त्य हुनुपर्छ । एउटा सँगै सुत्ने खाट र ओड्ने ओछ्याउने व्यवस्था गर्न नसकी विवाहको रहर गर्नु यस युगका केटाहरुका लागि लाजमर्दो कुरा हो । पढेलेखेकी शिक्षित छोरीले दाइजोसहित पराइको घरमा गएर आफ्नै बाबुआमाका खाट र ओछ्यानमा सुत्नु अर्को लाजमर्दो कुरा । पराईघर जाँदा बाबुआमालाई ऋण बोकाउनु बाबुआमाप्रति अन्याय र पाप पनि हो । बाबुलाई ऋण बोकाएर विवाह गर्ने छोरो छोरो नभइ मोरो मात्र हो । अबका छोरा हुन् वा छोरी दुबैले बाबुको सम्पति बाबुकै हो भन्ने ठान्न सक्नुपर्छ । आफ्नो सम्पति भनेको आफ्नै आर्जन मात्र हुन्छ । विवाह त्यही आर्जनअनुसार गर्न सके नेपाली समाजका धेरै विकृतिहरु मेटिनेछन् । यस्तो नव संस्कृति निर्माणमा युवा वर्ग र त्यसमा पनि शिक्षित युवा पङ्क्ति सचेत हुनुपर्नेछ । गाउँघरमा काम गर्ने शिक्षक, स्वस्थ्यकर्मी, राजनीतिकर्मी, सञ्चारकर्मी,साहित्यकार, कलाकार आदि क्षेत्रमा लागेका युवायुवतीले आफू नमुना बनेर समाजको आँखा खोल्न आवश्यक छ ।

 

विवाह र सम्पत्ति सहसम्बन्धित बनिरहेका छन् । अधिकांश युवती धनी घरका बुहारी भएर भित्रन पाउनुलाई गौरव ठान्छन् । बाबुआमा पनि छोरीलाई अग्लो र ठूलो घरभित्रका ढुकुटी भरिभरि खुसी रहेको सपना देख्छन् । यो गलत सोचाइ हो । कुनै केटाको ठूलो घर वा धेरै सम्पति देखिए पनि त्यो उसको नभइ उसका बाबुको मात्र हो । अझ हजुरबाबुको र बाबु एवम् काका बडिबाहरुको हो । सहरमा ठूलो घर र बाबुको गाडी देखेर उसका छोरासँग विवाह गर्ने धेरै केटीहरु ससुराको घरको भर्याङ पुछ्ने र ससुराको गाडी पुछ्ने दास भएको देखिएको छ । सासुससुराका लुगाधुने निशुल्क धोवी र आँगन बढार्ने कुचीकारमै सीमित भएर जीवन वितेको छ । सासुससुरालाई भेट्न आउने आफन्तले खाएका भाँडा माझ्दा माझ्दै बुढी भएको पनि नदेखेको होइन । बुढासासु ससुरा सह्यार्दै जीवन बितेका पनि छन् । अभिभावकको सेवा गर्नु नराम्रो होइन तर उसको आँखा सम्पत्तिमा थियो यथार्थ दासी बनेर गुज्रियो । जसले जे भने पनि आफ्नो सिप र क्षमताको आर्जन जति सजिलै अरुको सम्पति उपभोग गर्न पाइँदैन । जस्तो कुल खानदान वा कुल कुटुम्ब भए पनि आफ्नो हैसियत आफैसँग हुन्छ । हामीले बाबुको राजपद समाल्न नसक्ने राजकुमार पनि देखेका छौँ सामान्य महिषपाल राष्ट्रपति भएको पनि देखेका छौँ । उदाहरण खोज्न टाढा जानै पर्दैन । कसैले उपहार दिएको खाट दराजे आफ्नो घर सजाउँछु भन्नु मुर्खता मात्रै हो । अनावश्यक गहनाले व्यक्तित्व खुल्छ भन्नु अर्को मुर्खता । व्यक्तित्व त कर्मले खुल्छ । महिलाहरुलाई कमजोर मनस्थितिमा पुर्याउने विविध कारणमध्ये एक गहना पनि हो । महँगो गहना लगाएपछि उनीहरु आफूलाई कमजोर ठान्न थाल्छन् । अब छोरीहरुको नाककान छेड्ने भन्दा उनीहरुलाई छोरा सरह हुर्काएर पढाएर लेखाएर सक्षम बनाउन आवश्यक छ । ता कि उनीहरुमा शारीरिकबाहेक अन्य कुनै सांस्कृतिक विभेदको अनुभूति नै नहोस् ।   नेपाली समाजका यावत सामाजिक कुसंस्कारहरु सम्पत्ति र विवाहउत्सव एवम् चाडपर्वसँग जोडिएका छन् । हामीले यस्ता कुसंस्कारबाट चाँडोभन्दा चाँडो मुक्तिको बाटो लिनुपर्छ । कसैको विवाहका नाममा कसैले ऋणको बोझ बोक्नु हुँदैन । बाबुआमाको कर्तव्य विवाह योग्य सन्तान बनायो पुग्यो । अब विवाह कसरी गर्ने र बाँकी सहयात्रा कसरी गर्ने उनीहरुको कुरा । बेरोजगारी भत्ता र पैतृक सम्पत्तिमा हक नलाग्ने कानुन नबनुन् जेल यी समस्या रहिरहने भए पनि हामी आफैले केही सुधार गर्न सक्छौँ ।

सहकार्य मासिक पत्रिकाबाट