पुष २०, डोटी ।
सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै बुधबारबाट ‘आमहड्ताल’ सुरु भएको छ । जसका कारण डोटी तनावग्रस्त बन्न पुगेको पत्रकार चक्र कुँवरले जनाएका छन् ।
एक हप्तासम्म शान्तिपूर्णरुपमा भैरहेको ‘दबाबमूलक’ आन्दोलन बुधबार बिहानैबाट हड्तालमा परिणत भएसंगै जनजीवन प्रभावित बन्न पुगेको छ । राजधानीको माग गर्दै डोटीमा नौ दिनदेखी लगातार आन्दोलनका कार्यक्रमहरु हुदै आएका छन् ।
आन्दोलको नवौँ दिन आज नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं ७ का ईन्चार्ज लेखराज भट्टको क्षेत्रीय प्रशासन कार्यालय तथा डोटीका बिभिन्न ठाउँहरुमा पुत्ला दहन गरिएको छ । कैलाली क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य समेत रहेका भट्टले राजधानीका लागि डोटी उपयुक्त नभएको भन्दै कैलालीको अत्तरीयालाई राजधानी बनाउने धारणा राखेपछि अवस्था तनावपूर्ण वन्दै आएको छ ।
बिहिबार विहान प्रशारीत एक टेलिभिजन कार्यक्रममा बोल्दै डोटीमा १५ जना सांसद राख्ने ठाउँ नभएको र डोटी राजधानीका लागि कुनै पनि हालतमा उपयूक्त हुन नसक्ने भएको भन्दै अत्तरिया राजधानी बनाउने अभिव्यक्ति खगराज भट्टले दिएपछि आफ्नै पार्टीका नेता भट्टको पुत्ला दहन गरेको माओबादी केन्द्र डोटीका नेता तेज डुम्रेलले बताए । नेता डुम्रेल राजधानीको माग राख्दै बिगत देखि नै आन्दोलनमा सामेल छन् । बामगठबन्धन नभए डोटीबाट चुनाव लड्ने तयारी गरेका नेता लेखराज भट्ट डोटी गडसेराका स्थायी बासिन्दा समेत रहेको भन्दै थुप्रै आधरहरु भएको डोटीबाट डोटेली जनताको अधिकार खोसिने गरी डोटी बिरुद्ध बोलीरहेको डोटीबासिको आरोप छ ।


