तेजेन्द्र के.सी.
पुस १९, बुटवल।
रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् ।
प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्दे सोमबार राति अवेर केसी बिजयी भएका छन् । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् । एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो । जस अनुसार चुनाव भएको रुपन्देही नवौं जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।
सोमबार राती भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि ) मुकेह कुँवर र खेमराज गुरुङ विजयी भए । सदस्यहरुमा होम गलामी, सोमबहादुर थापा (सुरज), पदमबहादुर थापा (अशोक), जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी भए । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनित गर्ने छ । यसअघि साधारणसभाको उद्घाटन गर्दै एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रुपन्देही जिल्ला फुटवलमा संभावना बोकेको क्षेत्र भएको भन्दै सहयोगका लागि एन्फा तयार रहेको बताए ।