प्रादेशिक राजधानीको लागि काठमाडौंमा प्रदर्शन

१७ पुष २०७४, सोमबार ०९:०५

पुस १७, काठमाडौं ।
नेपाल सात प्रदेशमा विभाजन त सहजै ढंगले भएको मान्नुपर्छ । तर, जति सहजै विभाजन भयो अहिले यही प्रत्यक सात प्रदेशको राजधानी कहाँ बनाउने भन्ने विषय अहिलेको जल्दोबल्दो समस्या बनेको छ ।जम्मा १४ वटा जिल्ला रहेको प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउन माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

 

आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका धनकुटेलीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर धर्ना र प्रदर्शन गरेका हुन् । पूर्वाधार, सामथ्र्य, सुरक्षा, सुन्दरता, भौगोलिक अवस्था आदिले उपयुक्त तथा सवै सूचकबाट धनकुटालाई १ नम्बर प्रदेशको राजधानी बनाउनु योग्य ठहरिएकाले प्रादेसिक राजधानी निर्माण अभियान समितिको आयोजनामा प्रदर्शन गरिएको नेपाली कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभाका सांसद इन्द्रमणी पराजुली, नेपाली कांग्रेसका धनकुटका सभापति अग्नीप्रसाद पौडेल, नेकपा एमालेका नेता धर्मराज पौडेल, अभियानका संयोजक उमेश घिमिरेलगायतले धनकुटालाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।

अभियानले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ७ लाख भन्दा बढीको हस्ताक्षर र ज्ञापनपत्र भोली बुझाउने कार्यक्रमको रहेको पनि नेता राईले जानकारी दिए ।