माघ ४, काठमाडौं ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको झण्डै साढे एक महिनापछि नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ । एमाले र माओवादी केन्द्र बाम गठबन्धन बनाएर चुनावमा होमिएपछि प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेको कांग्रेसले, सो बारे छलफल गर्न कार्यसमिति बैठक बोलाएको हो ।
राजधानीको बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेर अघि सुरु बैठकमा पराजयको गम्भीर समीक्षा, रूपान्तरणको अभियान, महासमिति वा विशेष महाधिवेशन बोलाउने लगायत बिषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
निर्वाचनमा पार्टीको पराजयसँगै सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने आवाज उठिरहेका समय बोलाइएको बैठकमा पार्टीको आन्तरिक संगठन सुदृढिकरणबारे गम्भीर छलफल हुने शर्माको भनाई छ ।
बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीलाई नयाँ स्वरुप दिन विशेष महाधिवेशन बोलाउन दवाव दिने तयारी गरेका छन् । आज पहिलो दिनको बैठक राष्ट्रियसभा निर्वाचन र उम्मेदवार मनोनयनमा केन्द्रित हुने प्रवक्ता शर्माले जानकारी दिए ।
आगामी माघ २४ गतेका लागि तय राष्ट्रियसभा निर्वाचनको उम्मेदवार मनोनयन यही माघ १० गते हुने कार्यतालिका छ ।
