स्थानीय तहको समन्वय र सेवा प्रवाह सहजीकरणका लागि ७ टोली निर्माण

२४ पुष २०७४, सोमबार ०५:११

पुस २४, काठमाडौं। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहको समन्वय र सेवा प्रवाह सहजीकरणका लागि सहसचिवको नेतृत्वमा सात प्रदेशमा सातवटा टोली निर्माण गरेको छ ।

स्थानीय तहमा भएका कामहरूको अनुगमन, समस्याको पहिचान, कर्मचारी समायोजना, वडा कार्यालय व्यवस्थापन, स्थानीय तह सञ्चालनमा आएका जटिलताबारे टोलीले आवश्यक समन्वय गरी समाधानको बाटो खोज्ने बताइएको छ ।
स्थानीय तहमा देखिएका विभिन्न समस्याले कतिपय स्थानीय तहको सेवा प्रवाहमै समस्या भएपछि मन्त्रालयले स्थानीय तह सञ्चालनमा देखिएका समस्या समाधानका लागि सहसचिवको नेतृत्वमा आइतबार टोली निर्माण गरेको गरेको हो ।
प्रदेश १ मा सहसचिव आनन्दराज ढकाल, प्रदेश २ मा सुरेश अधिकारी, ३ मा डा. हरि पौडेल, ४ मा रामकृष्ण सापकोटा, ५ मा पुरुषोत्तम नेपाल, ६ मा बेदबहादुर कार्की र ७ मा रुद्रसिंह तामाङलाई टोली संयोजक तोकिएको मन्त्रालयले जानकारी दिएको छ ।

जिल्लामा भने उपसचिवको नेतृत्वमा स्थानीय तहको सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरिएको मन्त्रालयले जनाएको छ । टोलीले स्थानीय तहमा देखिएका समस्या स्थानीय रूपमै समाधान गरिने जानकारी गराउँदै नीतिगत रूपमा समाधान गर्नुपर्ने विषयलाई सुझावसहित मन्त्रालयमा पठाउने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङका अनुसार टोलीले साबिक स्थानीय निकाय रहँदा भएको चल अचल सम्पत्ति र त्यसको सम्बन्धित पक्ष स्थानीय तहमा हस्तान्तरण भएको अवस्था, २०७३ साल फागुनमा स्थानीय तह घोषणा भएपछि तत्काल सेवा सुचारु गर्न स्थानीय तहलाई उपलब्ध गराइएको रकमको उपयोगको अवस्था र विवरणसमेत अध्ययन गर्नेछ ।