सुर्खेत गुर्भाकोट नगरपालिका–४ र ५ जोड्ने पाँच करोडको पक्की पुल बन्दै

२५ पुष २०७४, मंगलवार ०९:०४

सुदिप पुरि
पुस २५,सुर्खेत ।
सुर्खेत गुर्भाकोट नगरपालिका–४ र ५ जोड्ने कोशीघाट गोचेखोलामा पक्की पुलको शिलान्यास गरिएको छ ।

पाँच करोड ३० लाखको लागतमा निर्माण हुने पक्की पुलको गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुनले शिलान्यास गरे । दुई वर्षभित्र काम सम्पन्न गर्ने गरेर जय बागेश्वरी÷एडभेन्चर जेभीले पुलको ठेक्का लिएका छन् । पुल ४० मिटर लम्वाई र नौ मिटर चौडाईको हुने छ । पुल निर्माणपछि गुर्भाकोट नगरपालिकाका कोशीघाट, निग्लेनी, बेतेनी, मालारानीलगायतका नागरिकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् । पुल शिलान्यास गर्दै नगरप्रमुख पुनले तोकिएकै समयमा निर्माणको काम सम्पन्न गर्न कम्पनीलाई आग्रह गरे । ‘स्थानीयस्तरमा कुनै किसिमको समस्या हुँदैन्’ उनले भने, ‘समयमै काम सम्पन्न गर्नुहोस् ।’ उनले गोचेखोलामा पुल नहुँदा यस क्षेत्रका नागरिकले सास्ती भोगिरहेको बताए । ‘पुलको अभावमा यस क्षेत्रका नागरिकले थुप्रै समस्या भोग्नु परेको छ’ नगरप्रमुख पुनले भने, ‘समयमै सम्पन्न गरेर जनतालाई राहत पुग्ने काममा लाग्नुहोस् ।’

उपप्रमुख मैना विकले पुल निर्माणसँगै यस क्षेत्रको कृषि उत्पादनले सहजै बजार पाउने बताइन् । ‘यसले स्थानीयको आयआर्जनमा सहयोग पु¥याउने छ’ उनले भनिन्, ‘समयमै पुल निर्माण सम्पन्न गर्नका लागि स्थानीय स्तरमा हामी वातावरण बनाउँछौं ।’ पुल निर्माणको ठेक्का पाएको जय बागेश्वरी÷एडभेन्चर जेभीका यज्ञबहादुर खत्रीले तोकिएकै समयमा काम सम्पन्न गर्न आफूहरु प्रतिवद्ध रहेको बताए । ‘स्थानीय स्तरमा आउने समस्या समाधानका लागि नगरपालिकाले सहजीकरण गरिदिनुपर्छ’ उनले भने, ‘यति भएमा हामी तोकिएकै समयमा काम सम्पन्न गर्न सक्छौं ।’

पुल नहुँदा कृषकहरुले उत्पादन गरेका सामग्रीहरुले बजार पाएका छैनन् । बिरामी हुँदा स्वास्थ्य संस्था र अस्पतालसम्म पु¥याउन समस्या थियो । स्थानीय कमानसिहं बिकले पुल निर्माणसँगै स्थानीयमा नयाँ उत्साह छाएको बताए । ‘गोचेखोलामा पक्की पुल नहुँदा यस क्षेत्रलाई सडकसँग जोड्न समस्या भएको थियो’ उनले भने, ‘जसले गर्दा यहाँका बासिन्दाहरु यातायातको सुविधाबाट वञ्चित हुनुपरेको थियो ।’

 

कार्यक्रममा स्वास्थ्यकर्मी संघका केन्द्रीय उपमहासचिव किरण वली, गुर्भाकोट नगरपालिका वडा नम्वर पाँचका अध्यक्ष लालबहादुर पुनलगायतले पुल निर्माणपछि यस क्षेत्रका नागरिकहरु लाभान्वित हुने भन्दै तोकिएकै समयभित्र निर्माणको काम हुनुपर्ने बताएका थिए ।