पहिलो पटक ग्रेडिङ प्रणालीमा कक्षा ११ को नतिजा सार्वजनिक (यसरी हेर्नुस नतिजा)

३० पुष २०७४, आईतवार ०४:४२

पुस ३०, भक्तपुर । राष्ट्रिय परिक्षा बोर्डले शनिवार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा तीन लाख ४७ हजार ७४८ विद्यार्थी सहभागी भएका बोडका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिए । बोर्डले पहिलो पटक ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गरेको उनले जानकारी दिए ।

गत असारमा भएको उक्त परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिउको र एक जनाको परीक्षा स्थगित गरिएको उनले जानकारी दिए । परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिए । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउने छन् ।

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटक–पटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजाा प्राप्त प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिना पछि नतिजा सार्वजनिक गरेको हो ।    नतिजा सार्वजनिक भएपछि राष्ट्रिय परीक्षा बोर्डको वेवसाइट http://www.neb.gov.np/results मा लगइन गरेर हेर्न सकिने छ ।   यस्तै नेपाल टेलिमकको वेवसाइट http://neb.ntc.net.np/ मा लगइन गरेर पनि परीक्षाको नतिजा हेर्न सकिने छ ।