पहिलो केन्द्रीय समिति बैठकमा

४ माघ २०७४, बिहीबार ११:३७

माघ ४, काठमाडौं ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण कांग्रेसकै नेतृत्वमा पूरा भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनसक्नु कांग्रेसको सफलता भएको बताए ।

बैठकमा उनले लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि सभापतिको हैसियतले सम्पूर्ण नेता कार्यकर्तामा बधाई ज्ञापन गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति देउवाले बैठकमा हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम कांग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्रिया गर्न जरुरी रहेको बताए ।

निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौँ, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले भने ।

माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवम् सभापति देउवाले तत्काल केही दिनमै केन्द्रीय कार्यसमितिको अर्को बैठक बोलाई फेरि लामो छलफल र बहस गरिने जानकारी गराएका थिए ।

बैठकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्को बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राखेका थिए ।

बैठकमा पार्टी नेताहरु विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायतले निर्वाचनमा पार्टीको पराजयका कारणबारे समीक्षा र राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारीबारे धारणा राख्दै पार्टीको रुपान्तरण आवश्यक रहेकामा जोड दिएका थिए ।

  • मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) कांग्रेसमा समाहित भएपछि सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार बिहीबार पहिलोपटक कांग्रेस केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रुपमा सहभागी थिए । पार्टीको आगामी बैठकले महासमितिको बैठकको मिति तय गर्ने प्रवक्ता शर्माले बताए ।