करोडौं ठगी गर्ने व्यक्ति पक्राउ

५ माघ २०७४, शुक्रबार ०९:४२

माघ ५, काठमाडौं ।

जापान, अमेरिका, पोर्चुगल, सिंगापुर लगायत अन्य देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट घर भइ हाल ललितपुरको तिखेदेवलमा बस्दै आएका ३९ वर्र्षीय पारस लोहोनी छन् ।

पीडितहरुको उजुरीको आधारमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो । उनले विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेका थिए ।

प्रहरीका अनुसार उनले प्रतिव्यक्ति ७ लाख रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्म लिएर २ करोड ७५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ । पीडितहरुसँग पैसा लिएपछि लोहोनी सम्पर्कबिहीन हुने गरेका थिए ।

उनीविरुद्ध वैदेशिक रोजगारी विभाग, बुद्धनगरमा समेत वैदेशिक रोजगारी ठगी सम्बन्धि मुद्दा पनि रहेको अनुसन्धानको क्रममा  बताइएको छ ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसरमा बुझाइएको छ ।