एमाले बैठककाे निर्णयः मुख्यमन्त्रीमा ‘सहमति’

१६ माघ २०७४, मंगलवार १०:०५

माघ १६, काठमाडौं .

मंगलवार बसेको नेकपा एमाले स्थायी कमिटीको बैठक विभिन्न तीन विषयमा निर्णय गरेर सकिएको छ ।

एमालेले राष्ट्रियसभा निर्वाचनको आन्तरिक तयारी, प्रदेशको मुख्यमन्त्रीका लागि उम्मेदवार चयन र नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले गरेका निर्णयको सम्बन्धमा निर्णय गरेको हो ।

एमालेले प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार चयनको जिम्मा प्रदेश कमिटीलाई दिएको छ । साथै मुख्यमन्त्रीको उम्मेदवार सहमतिका आधारमा चयन गर्ने एमालेको स्थायी कमिटीले निर्णय गरेको छ । सहमति हुन नसकेको अवस्थामा प्रदेशमा संसदीय दलको निर्वाचन गर्ने र संसदीय दलको नेतामा विजयी हुने व्यक्तिलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमालेले वर्तमान सरकारले बृद्धभत्ताको उमेरहद घटाएर ६५ वर्ष पुर्याउने लगायतका विषयमा गरेका निर्णयको भत्र्सना गरेको छ ।

‘राष्ट्रिय ढुकुटीको नाङ्गो दुरुपयोग, मनपरी ढंगले गरिएको नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी, अराजकतापूर्ण र जनहीत एवं राष्ट्रहीत विपरितका निर्णयहरूको बैठकले घोर निन्दा एवं भर्त्सना गरेको छ,’ बैठकपछि एमाले सचिव कृष्णगोपाल श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।