उपराष्ट्रपति पुनद्वारा एक धर्मले अर्कालाई सम्मान गर्न आग्रह

१७ पुष २०७४, सोमबार १४:२१

पुस १७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्मनिरपेक्ष नेपालमा हरेक नेपाली आफूले इच्छाएको धर्म ग्रहण गर्न स्वतन्त्र रहेको बताएका छन् ।


यशु ख्रिस्टको जन्मोत्सव तथा नयाँ वर्ष २०१८ का उपलक्ष्यमा राष्ट्रिय ख्रिस्टियन महासंघ नेपालले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “नयाँ संविधान घोषणापछि अब हामी बिल्कुल नयाँ ठाउँमा छौँ । अब पहिलेजस्तो होइन, व्यक्तिले आफूले इच्छाएको धर्म मान्न पाउँछ ।” उपराष्ट्रपतिले अब विवाद र झैझगडा त्यागेर एक धर्मले अर्कालाई सम्मान गर्ने तथा सद्भाव र मेलमिलापबाट अगाडि बढेर देशलाई समृद्धितर्फ लान सबैलाई आग्रह गरे ।

कार्यक्रममा ख्रिस्टियन महासंघका अध्यक्ष सिबी गहतराजले नेपालमा धर्मनिरपेक्ष घोषणा भएपछि ख्रिस्टियनले गौरवका साथ नयाँ वर्ष मान्ने अवसर पाएको बताए भने महासंघका पद्मनाथ पराजुलीले ख्रिस्टियन समुदायको नयाँ वर्षले सम्पूर्ण नेपालीमा खुशी र उमंग ल्याओस् भन्ने कामना गरे।

कार्यक्रममा उपराष्ट्रपति पुनलाई धर्मनिरपेक्षता घोषणा तथा यसलाई संस्थागत गर्न गरेको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको थियो । त्यस्तै ३० एल्बम निकालेका र इसाई धर्मसम्बन्धी ५०० भन्दा बढी भजन गाएकी गायिका सलोमीलाई सम्मान गरिएको थियो ।