अस्थायी राजधानी डोटी र धनकुटा माग गर्दै सूदुर पश्चिम र पूर्वमा आन्दोलन चर्कदैं

२१ पुष २०७४, शुक्रबार ०९:१०

पुस २१, काठमाडौं ।

प्रदेश नम्बर ७ को राजधानी माग्दै डोटीमा शुरु भएको आन्दोलन चर्कदैं गएको छ ।  जसका कारण बजार, शिक्षण संस्था बन्द हुँदा विद्यार्थी ज्यादा मारमा परेका छन् भने यातायातका साधन नचल्दा यात्रुहरुले हैरानी व्यहोर्नु परेको स्थानीय पत्रकारले  जनाएका छन् । सरकारले दिपायलको पक्षमा निर्णय नगरेसम्म हड्ताल रहने डोटीवासीको माग छ ।

आन्दोलनकारीले हिजो डोटीलाई राजधानी बनाउन नहुने विषयमा वोलेका भन्दै माआवादी नेता लेखराज भट्टको पुत्ला समेत दहन गरेका थिए ।

यसैवीच उता प्रदेश नंम्वर १ को अस्थायी राजधानी धनकुटा तोकिनु पर्ने माग राख्दै धनकुटाबासीले गरेकोे आमहड्तालको तेस्रो दिन आज  पनि जारी रहेको छ । आन्दोलनका कारण गएराति ९ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म बाटोमा अलपत्र परेका सवारी साधनलाई फुकुवा गरेपनि पुनः बाटो अवरुद्ध पारिएको धनकुटावाट पत्रकार भीम मल्लले जनाएका छन् । आन्दोलनका कारण आज पनि बिहानैबाट जिल्लामा बजार, पसल, कलकारखाना ठप्प रहेका छन् । एम्बुलेन्स, प्रेस, विद्यालय, दूध र तरकारी बोकेको सवारी साधनबाहेक कोशी राजमार्गमा अरु कुनै गाडी चल्न दिइएको छैन ।

बन्दकर्ताले हिले, कागत, देब्रेबास, सल्लेरी, जिरोप्वाइन्ट, आत्मारा ढाट, मूलघाटलगायतका स्थानमा टायर बालेर बाटो वन्द गदौ जनजीवनमा आशिंक प्रभाव परेको छ । गाडी नचल्दा धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित वन्न पुगेको छ । यसैवीच आज आमहड्ताल २४ घण्टा नै गरिने आन्दोलनकारीहरुको भनाई रहेको छ ।