अब सवारी लाइसेन्सका लागि अनलाइनबाटै फर्म भर्न सकिने

२६ पुष २०७४, बुधबार ०५:१८

पुस २६, काठमाडौं । यातायात व्यवस्था विभागले आइतबारदेखि देशभर नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइनमै फारम भर्न सकिने सुविधा शुरु गर्दैछ ।  पुस ०७३ देखि शुरु भएको यो सेवा काठमाडौं उपत्यकामा मात्र कार्यान्वयनमा थियो । विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार अब देशभरि नै शुरु गर्ने तय भएको हो ।

 

अहिलेसम्मका सिकाइका आधारमा अनलाइन सेवालाई प्रभावकारी बनाइने उनको दाबी छ । विभागको अनलाइन सेवामा एक वर्षबीचमा सर्भर डाउन भएर पटक(पटक समस्या पनि आएको थियो । अब त्यस्तो अवस्था नआउने वातावरण तयार गरेर उपत्यका बाहिर पनि सेवा लैजान लागिएको भट्टराईले बताए । विभागले अनलाइन लाइसेन्स फारम भर्ने सुविधालाई विस्तार नगर्दा मोफसलका कार्यलयमा फारम भर्नेहरुको लामो लाइन लाग्ने गरेको छ । लामो अन्तरालमा लाइसेन्स खुल्ने भएकाले उपत्यकाबाहिरका लाखौं सेवाग्राहीले यातायात कार्यालयमा ठूलो सास्ती बेहोर्ने गरेका छन् । ‘हामीले सबै कार्यालयलाई अनलाइन फारम खोल्न परिपत्र गरेका छौं । निर्देशन लागू नभए कार्यालय प्रमुख कारवाहीमा पर्छन्,’ महानिर्देशक भट्टराईले भने, ‘त्यसका लागि सिस्टम तयार छ ।’

‘लाइन बस्ने दिन सकिए’

अनलाइन फारमको व्यवस्थापछि विभागमा घण्टौं लाइन बस्नुपर्ने बाध्यता लगभग हट्नेछ । विभागका लाइसेन्स कार्यालयहरुमा फारम बुझाउन एकै दिन हजारौं सेवाग्राही लाइनमा बस्ने गरेका छन् । तर, सीमित व्यक्तिको फारम बुझेर धेरैलाई फिर्ता पठाउने गरिएको छ । अब लाइसेन्स कार्यालयहरुमा फारम भर्नेहरुको भीड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीको सास्ती पनि हटाइदिनेछ । अनलाइन फारम भर्ने व्यवस्थाले विचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्ने महानिर्देशक भट्टराईले बताए । अहिले यातायात विभाग विचौलियाको बढी चलखेल हुने निकायमध्ये अग्र स्थानमा छ । सेवाग्राहीसँग अतिरिक्त रकम बुझेर कर्मचारीसँग साँठगाँठ गर्दै लाइसेन्स बनाइदिने ठूला समूहहरु विभागका कार्यालयआसपास छ्यापछ्याप्ती भेटिन्छन् । अब लाइन बस्न जानेहरु नहुने भएकाले विचौलियाले चलखेलको अवसर नपाउने दाबी विभागको छ । तर, काठमाडौंमा अनलाइन फारम शुरु भएपछि पनि विचौलियको दबदबा घटेको देखिँदैन ।  विभाग भने अनलाइन फारम शुरु भएपछि दलालहरुको सक्रियता खुम्चिएको दाबी गर्छ ।

कसरी भर्ने फारम ?

विभागको आधिकारिक वेबसाइटमा यो सेवाको लिंक उपलब्ध छ । विभागको होम पेजमै ‘अनलाइन सवारी चालक अनुमतिपत्र’ भन्ने लिंक मेनु छ । यो लिंक क्लिक गरेर फारम भर्न सकिनेछ । त्यसमा आफूले लाइसेन्स लिन लागेको कार्यालयलाई छान्नुपर्छ । र, फारममा आवदेनकर्ताले सबै व्यक्तिगत विवरण भर्नुपर्छ ।  आफ्ना आधिकारिक कागजातमा उल्लेखित विवरणसँग मिल्ने गरी फारम भरेर अनलाइनमा ‘सबमिट’ गर्नुपर्छ र त्यसपछि अनलाइन सिस्टमले नै दर्ता भएको फारमको प्रमाणपत्र दिनेछ, जसलाई प्रिन्ट गर्नुपर्छ ।

सिस्टमले नै बोलाउने

सोही प्रमाणपत्रमा विभागको कार्यालयमा कुन दिन उपस्थित हुने भनेर उल्लेख हुनेछ । सिस्टमले भनेकै दिन विभागका कार्यालयमा पुगेर आफ्ना नागरिकतासहितका कागजात पेश गर्नुपर्छ । त्यसपछि लाइसेन्सका लागि आवश्यक तस्बिर खिच्नुपर्छ र आफ्नो औंठाछापसहितको बायोमेट्रिक दिनुपर्छ । आवश्यक शुल्क पनि विभागको कार्यालयमै तिनुपर्छ ।  ‘हामीले हरेक कार्यालयले दिनमा कति लाइसेन्स वितरण गर्न फारम बुझ्ने भन्ने कोटा तोकेका छौं,’ महानिर्देशक भट्टराईले भने, ‘सोहीअनुरुप सिस्टमले आवदेनकर्तालाई बायोमेट्रिक दिन जाने मिति स्वतः बताइदिन्छ । यसले कार्यालयमा भीड घट्छ भने सेवाग्राहीलाई पनि सास्ती पर्दैन ।’  लाइसेन्स फारमलाई अनलाइन प्रणालीमा लगिँदै गर्दा स्मार्ट लाइसेन्सको वितरण भने प्रभावित नै छ । पर्याप्त कार्ड नहुँदा ट्रायल पार गरेका र नवीकरणका लागि कागजात पेश गरेका करिब तीन लाख चालक स्मार्ट लाइसेन्सको प्रतीक्षामा छन् । विभाग भने छिट्टै समस्या समाधान हुने दाबी गरिरहेको छ ।