पुस १६, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन तोड्ने अनेक प्रयत्न भइरहेको बताएका छन् । उनले एमाले र माओवादी केन्द्रको वाम गठबन्धन तोड्ने प्रयास भए पनि असफल भएको बताएका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमद्वारा लिसिखत ‘राष्ट्र निर्माणको महाअभियान’ पुस्तकको शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बाम गठबन्धन तोड्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पाँच वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव आएको पनि बताए ।
‘दाहालजीले सार्वजनिक रुपमै आफुलाई पाँच वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव आएको खुलासा गरिसकेका छन्,’ ओलीले भने, ‘यो प्रस्ताव दाहाललाई प्रधानमन्त्री बन्नका लागि नभई वाम गठबन्धन बिथोल्नका लागि आएको हो ।’ काँग्रेस सभापति शेरबहादुर देउवाले पाँच वर्षका लागि प्रधानमन्त्री बन्न गरेको प्रस्तावको खुलासा माओवादी अध्यक्ष दाहाल आफैँले गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले सो प्रस्तावसहित अन्य विषयलाई लिएर वाम गठबन्धन बिथोल्न खोजिएको बताउँदै दुई पार्टीका बीचमा चाँडै एकता हुने बताए । वाम गठबन्धन तोड्ने प्रयास गरिए पनि ती सबै असफल हुने बताउँदै ओलीले जनताले दिएको अभिभारा पूरा गर्ने बताए । –राजधानी दैनिक
