रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै

१२ पुष २०७४, बुधबार ०२:४१

पुस १२ काठमाडौं। रानीपोखरी पुनःनिर्माणको विवाद चुलिदै गएपछि मङ्गलबार तालाबन्दीको अवस्थामा पुगेको छ । काठमाडौँ महानगरपालिकाले थालेको रानीपोखरी वरपरको पर्खाल पु्नःनिर्माण गर्दा रड, सिमेन्ट र कङ्क्रिटको प्रयोग गरेर ऐतिहासिक सम्पदाको मौलिक स्वरूप बिगारेको भन्दै स्थानीयले विरोध गरेर मङ्गलबार निर्माणस्थालमा तालाबन्दी गरेका हुन् ।

रानीपोखरी पुनःनिर्माणको प्रक्रियाका विषयमा महानगरपालिका प्रमुख र उपप्रमुखबीच पनि मतभेद देखिएको छ । काठमाडौँका सम्पदा संरक्षण अभियान नामक स्वयम्सेवी संस्थाले रानीपोखरी पुनःनिर्माण गलत तरिकाबाट भएको भन्दै विरोध गर्दै आएको छ ।  पुनःनिर्माण भइरहेको रानीपोखरीको विवाद विभिन्न सञ्चार माध्यममा आएपछि महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले मङ्गलबार बिहान स्थालगत भ्रमण गरेपछि त्यहाँ कङ्क्रिटको वाल लगाउने कार्य रोक्न निर्देशन दिनुभएको थियो । त्यसपछि त्यहाँ भेला भएका स्थानीयले स्वःस्फूर्त रूपमा तालाबन्दी गरेको सम्पदा संरक्षण अभियानका संयोजक आलोक तुलाधरले बताए।

उपप्रमुख हरिप्रभा खड्गी ऐतिहासिक सम्पदा जथाभावी तरिकाले पुनःनिर्माण गर्न नहुने भन्दै सम्पदाविद्सँग छलफल गरेर विवादरहित ढङ्गले काम अगाडि बढाउनुपर्ने बताईन् । महानगरपालिकामा यस विषयमा छलफल हुँदा आफूलाई जानकारी समेत नदिने गरिएको उनको आरोप छ । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य दुई वर्षअघि नै राष्ट्रपतिले शिलान्यास गरिएको योजनालाई आफूले अगाडि बढाएको दाबी गर्छन् । उनि भन्छन््, ‘यसको निर्माणको प्राविधिक पक्षबारे मलाई त्यति धेरै थाहा छैन । मैले नीतिगत निर्णय गर्ने हो, त्यो गरेँ । प्राविधिक पक्षबारे महानगरपालिकाका वरिष्ठ इन्जिनियर डा. उत्तमकुमार रेग्मीलाई राम्रो जानकारी होला । ’  उनले आफू मङ्गलबार मात्र पहिलो पटक रानीपोखरीको पुनःनिर्माण हेर्न गएको पनि स्पष्ट पारे । उनले भने, ‘म त्यहाँ पुग्दा काम गरिरहेका मानिसलाई पन्छाएर ताला लगाइएको पाएँ तर कसले किन तालाबन्दी गरे भन्ने विषयमा कोही कतैबाट जवाफ पाइनँ ।’

पोखरी पुनःनिर्माणको तरिका गलत भएको भन्दै बारम्बार विरोध भएपछि पुरातत्व विभाग र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग छलफल गरेर काम अघि बढाइने उनले बताए । सम्पदाविज्ञले भने रानीपोखरी पुनःनिर्माण गर्दा पहिलेकै जस्तो इँटा र कालिमाटीको पर्खाल लगाउनुपर्नेमा जोड दिँदै आएका छन् । कङ्क्रिटबाट पर्खाल लगाएमा पोखरीको अस्तित्व छिट्टै नासिने पोखरीभित्रको पर्यावरणीय चक्र बिग्रने उनीहरूको भनाइ छ ।   रानीपोखरी नेपाल संवत् ७८९ मा खनिएको थियो भन्ने तथ्य इतिहासकारले प्रस्तुत गर्दै आएका छन् । पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वरको मन्दिर भने पुरातत्व विभागले पुनःनिर्माण गरिरहेको छ । करिब ५० रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरीको चारैतर्फबाट अतिक्रमण गरेपछि साँघुुरिँदै गएको छ । पछिल्लो समयमा महानरपालिकाले रानीपोखरीको पुनःनिर्माण गरेर त्यसवरपर क्याफे सञ्चालनमा ल्याउने योजना पनि अगाडि सारेको छ । –गोरखापत्र दैनिक