समानुपातिकको सिट बाँडफाँट एक सातामा, कसले कति पाउने सिट ?

३ पुष २०७४, सोमबार ०१:५८

पुस ३, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । मतगणना सकिएपनि सिट बाँटफाँटका लागि भने अझै केही दिन लाग्ने निर्वाचन आयोगले जानकारी दिएको छ । जिल्लाबाट निर्वाचन क्षेत्रगत रुपमा अन्तिम परिणाम आएपछि मात्र आयोगले दलले पाउने सिटको बाँडफाँट गर्ने जानकारी दिएको छ ।

आयोगले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मतअनुसार नेकपा (एमाले) समानुपातिकतर्फ पनि पहिलो द लबनेको छ । नेकपा (एमाले) ले दोस्रोमा रहेको नेपाली काँग्रेसभन्दा ४६ हजार १०५ मत बढी पाएको छ । समानुपातिकतर्फको अन्तिम मतगणनाअनुसार यसपटक राष्ट्रिय दलको मान्यता पाउने दलको संख्या ५ मात्र हुने भएको छ । आयोगले औपचारिक रुपमा मतपरिणामसार्वजनिक नगरे पनि सदर मतको तीन प्रतिशतको हिसाबले पाँच दलले मात्र राजनीतिक दलसम्बन्धी ऐनले तोकेको थ्रेसहोल्डको तीन प्रतिशत कटाएका छन् । आयोगले सार्वजनिक गरेको प्रारम्भीक सदर मत ९५ लाख ४४ हजार ७४४ रहेको छ, जसअनुसार थ्रेसहोल्ड तीन प्रतिशत कटाउन दुई लाख ८६ हजार ३४२ मत आवश्यक पर्नेछ । तीन प्रतिशत नकटाउने दलको मत गणना समानुपातिकतर्फ सिट बाँडफाँटका लागि गणना हुदैन् । निर्वाचन आयोगले समानुपातिक निर्वाचन एक प्रमुख सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिेनाले औपचारिक निर्वाचन परिणाम प्राप्त भइसकेकाले सिट बाँडफाँट केही दिन लाग्ने बताए । तिम्सिनाले भने– “हामीले सबै क्षेत्रबाट औपचारिक परिणाम मगाईसकेका छौं । सबै मतपरिणाम आएपछि रुजु गछौं । त्यसपछि कसले कति सिट पाउने हामी हिसाब निकाल्छौं ।”

 

राष्ट्रिय दलको थ्रेसहोल्ड कटाउने दलमा नेकपा (एमाले)। नेपाली काँग्रस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम छन् । पहिलो पटक प्रतिनिधसभा निर्वाचनमा लडेको विवेकशील साझा पार्टीले छैटौं धेरै मत पाएको छ । दोस्रो संविधान सभामा समानुपातिक मतबाट चौथो भएको ठूलो दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटक राष्ट्रिय दलका लागि आवश्यक मत समेत पाउन सकेन । राप्रपा सातौँ स्थानमा सीमित भएको छ ।
समानुपातिकतर्फ पहिलो भएको एमालेको ३१ लाख ७४ हजार ४९४ मत छ । दोस्रोमा रहेको काँग्रेसले े३१ लाख २८ हजार ३८९ मत पाएको छ । तेस्रोमा रहेको माओवादी केन्द्रको पहिलो र दोस्रो दलभन्दा आधा कम मत छ ।  माओवादीको १३ लाख तीन हजार ७२१ मत छ। चौथो स्थानमा रहेको राजपाले चार लाख ७२ हजार २६४ मत पाएको छ । पाँचौँमा रहेको संघीय समाजवादी फोरमको चार लाख ७० हजार २०१ मत छ । ११ दलले एक हजार मत पनि कटाउन नसकेको निर्वाचन आयोगको तथ्यांक छ ।

कसको कति सिट

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको अनुसूचिमा उल्लेख भएअनुसार मत परिणाम विभाजक सूत्रबाट अब सिट बाँडफाँट गर्नेछ । औपचारिक रुपमा सिट बाँडफाँटका लागि भने कम्तिमा अझै एक साता लाग्न सक्ने आयोगले जनाएको छ । तर, उक्त सूत्रअनुसार एमालेले सबैभन्दा बढी सिट पाउनेछ । मतपरिणाम अनुसार विभाजक सूत्रअनुसार प्रत्येक दलका लागि खसेको मतलाई भाग गर्ने पद्दतिले शृंखलाबद्ध रुपमा भाग गरिनेछ । यसअनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । सिट संख्या नसकिँदासम्म बाँडफाँट गरिन्छ । मत परिणाम विभाजन सूत्रअनुुसार हाल आयोगले सार्वजनिक गरेको मतअनुसार एमाले सबैभन्दा बढी ४१ सिट पाउने देखिन्छ । यस्तै काँग्रसले ४०, माओवादी केन्द्रले १७ राजपा तथा संघीय समाजवादी फोरमले ६÷६ सिट पाउने देखिन्छ । –गोरखापत्र दैनिक