
पुस २, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख दलबीच सहमति नभएसम्म राष्ट्रि सभा गठनसम्बन्धि अध्यादेश स्वीकृत नगर्ने भएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डासँग छुट्टाछुट्टै छलफल गर्दै राष्ट्रपति भण्डारीले अध्यादेशबारे छिटो सहमतिमा पुग्न सुझाव दिएकी छिन् ।
काँग्रेस एकल संक्रमणीय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन हुनुपर्ने अडानमा छ भने एमाले र माओवादी बहुमतीय प्रक्रियाको पक्षमा छन् । प्रमुख दलहरुबीच नै सहमति नभएकाले विवादित अध्यादेश प्रमाणित गर्दा झन् विवाद बढ्ने राष्ट्रपतिको बुझाई छ । ‘राष्ट्रपतिज्यूले प्रधानमन्त्रीसहित नेताहरुलाई छिटो राजनीतिक सहमति खोज्न आग्रह गर्नुभएको छ,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले भने, ‘निकास दलहरुले नै खोज्ने हो भन्ने राष्ट्रपतिज्यूको मान्यता छ ।’
शनिवार प्रचण्डसँगको भेटमा पनि राष्ट्रपति भण्डारीले अध्यादेशबारे एकै ठाउँ बसेर सहमति खोज्न आग्रह गरेको राष्ट्रपति कार्यालय स्रोतल जनाएको छ । राष्ट्रपति भण्डारीले बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलमार्फत छिटो निकास खोज्न ध्यानकर्षण गराएकी थिइन् । – नयाँ पत्रिका