पुस १, काठमाडौं । वाम गठबन्धन बनाएर चुनावमा होमिएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच चुनावपछि शुक्रबार पहिलो पटक औपचारिक भेटवार्ता भएको छ ।
काठमाडौं बबरमहल स्थित एक कार्यकर्ताका निवासमा भएको भेटवार्ता करिब डेढ घण्टा चलेको थियो । बैठकमा दुवै अध्यक्षले चुनावी परिणामलाई सन्तुष्टि जनाएका थिए । उनीहरुले वाम गठबन्धनको उपादेयता र पार्टी एकीकरणको विषयमा केन्द्रित भएर छलफल गरेको थियो । दुवै जना अध्यक्षले सहायक नेताबेगर एक्ला एक्लै छलफल गरेको अध्यक्ष ओलीको प्रेस सल्लाहकार चेतन अधिकारीले बताए । भेटका क्रममा नयाँ सरकार गठन प्रक्रिया, कानुनी अड्चन, वर्तमान कामचलउ सरकारले गरेको निर्णय तथा त्यसको कार्यशैलीका बारेमा गम्भीर छलफल भएको प्रेस संयोजक अधिकारीले जानकारी दिए । निर्वाचन परिणाम दुवै दलले सोचेजस्तो आएकाले भावी कार्यनीति तथा रणनीति कसरी बनाउने बारेमा दुवै अध्यक्षबीच छलफल भएको हो ।
सरकारले गरेकामे पछिल्लो राजनीतिक नियुक्तिको निर्णयलाई लिएर एमालेले यसअघि विरोध जनाइसकेको छ । निर्वाचन परिणाम आइसकेपछि गरिने राजनीतिक नियुक्तिलाई नयाँ सरकारले मान्यता नदिने सो दलल प्रस्ट पारेको छ । गत असोज १७ गते ६ बुँदे सहमति गरेर चुनावी अभियानमा होमिएका दुवै दलका अध्यक्षले पार्टी एकीकरणमा बाधा नपुगोस् भनेर आफ्ना पार्टीका कार्यकर्तालाई सजग गराउने विषयमा समेत सहमति बनेको अधिकारीले बताए । पार्टीभित्रका नेता तथा कार्यकर्ताले पार्टी एकीकरणमा समस्या पर्ने गरी कुनै अभिव्यक्ति र व्यवहार प्रर्दशन नगर्नेतर्फ दुवै नेताले पार्टी मातहतका पङ्क्तिलाई सजग गराउने प्रतिवद्धता जनाएका छन् ।
नेपाली काँग्रसका नेता शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पछिल्लो राजनीतिक नियुक्ति, राष्ट्रिय सभा गठन प्रक्रिया, अध्यादेशको जटिलता तथा त्यसको समाधानका विषयमा समेत दुवै अध्यक्षबीच छलफल भएको प्रेस संयोजक अधिकारीले बताए । निर्वाचनपछि उत्पन्न राजनीतिक परिस्थितिले र त्यसको व्यवस्थापनमा दुवै पार्टी एक भएर लाग्ने र नयाँ सरकार गठनमा दुवै दलको सहमतिअनुसार अगाडि बढ्नेमा दुवै नेता सहमत भएको छ । दुवै पार्टीबीच भएको ६ बुँदे सहमतिअनुसार पार्टी एकीकरणका लागि पार्टी एकता संयोजन समिति गठन गरिएको छ । सो समितिको प्रमुखमा दुवै दलका अध्यक्ष रहेका छन् । संयोजन समितिले पार्टी एकताको कामका विषयमा आवश्यक तयारी ष्रिरहेको दुवै दलका नेताहरुले प्रतिक्रिया दिदै आएका छन् । –गोरखापत्र दैनिक
