केक मिक्सिङ गर्दै क्रिसमसको स्वागत

२८ मंसिर २०७४, बिहीबार ०४:४२

मंसिर २८, काठमाडौं । काठमाडौं, पोखरा, चितवनलगायत पर्यटकीय गन्तव्यका होटलहरू यतिबेला क्रिसमसको स्वागतको निम्ति केक मिक्सिङमा व्यस्त छन् । काठमाडौंको ठमेलस्थित पर्यटकीय गन्तव्यमा यतिबेला क्रिसमसको रमझम छाइसकेको छ ।

क्रिसमस आउँदै गर्दा यसलाई स्वागत गर्नको निम्ति केक मिक्सिङको ठूलो महत्व हुने गरेको होटल व्यवसायीहरूको भनाइ छ । त्यसैले तारे होटलहरूमा यतिबेला केक मिक्सिङ कार्यक्रममा व्यस्त भएका देखिन्छन् ।   होटलहरू हायात रिजेन्सी, सांग्रिला, सोल्टी, मालबेरीलगायतले केक मिक्सिङ कार्यक्रम आयोजना गरिसकेका छन् । निकै आकर्षक रूपमा राखिने केक मिक्सिङले जोकोहीको पनि ध्यान आकर्षण गर्छ । केक मिक्सिङमा प्रयोग गरिएका मिक्सिङ लामो समयसम्मको लागि खान योग्य हुन्छ ।   विशेषगरी ड्राइफ्रुट, चेरी, स्ट्रबरी वाइन, जुस, रमलगायतका विभिन्न परिकारको मिश्रणलाई करिब एक महिनापश्चात् डिसेम्बर २५ का दिन पल्म केक तयार गर्न केक मिक्सिङ गरिन्छ । युरोपका देशहरूमा परिवार तथा इष्टमित्र भेटको लागि क्रिसमसलाई स्वागत गर्न यस्तो कार्यक्रम आयोजना गरिन्थ्यो । यसका साथै कलेज, स्कुल तथा होटलहरूमा पनि यस्तो कार्यक्रम गरिन्थ्यो । हाल नेपालका तारे होटलहरूमा पर्यटक आकर्षणको लागि यसलाई प्राथमिकता दिने गरेको पाइन्छ ।

 

गत साता होटल सोल्टी क्राउन प्लाजा र मलबेरीले यस्तोे कार्यक्रम आयोजना गरेको थियो । शुक्रबार होटल मलबरीमा आयोजित केक मिक्सिङ कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिस नेपाल सदीक्षा श्रेष्ठ र मलिना जोशी उपस्थित थिए । साथै, होटलका सेफ समूह, पत्रकार, कर्मचारी पनि यस कार्यक्रममा सहभागी थिए,जसमा ३६ प्रकारको ड्राइ फ्रुट, स्ट्रबेरी, चेरी, वाइन, जुस, रमजस्ता सामग्री मिसाइएको थियो । यसबाहेक बेकिङ पाउडर, ल्वाङ, सुकमेलको धूलो, क्यान्डिड अरेन्ज, बटर, पानीजस्ता सामग्री केक मिक्सिङमा मिश्रण गरिन्छ । यस्तै, होटल सोल्टीले पनि गत आइतबार उक्त कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा विभिन्न देशका पर्यटक उत्साहका साथ सहभागी भएका थिए ।
युरोपका देशहरूमा क्रिसमसको आगमनलाई स्वागत गर्न केक मिक्सिङ गर्ने चलन छ । क्रिसमस आउनुभन्दा एक महिना अगाडि परिवारका सबै भेला गरी केक मिक्सिङ कार्यक्रम आयोजना गर्ने गर्छन् । यसका साथै घरघरमा मात्र नभई स्कुल, कलेज, डिर्पाटमेन्ट स्टोर र होटलहरूमा पनि यस्तो कार्यक्रम गरिन्छ । नेपालीको लागि यो नौलो चलन भए पनि पर्यटक आकर्षण गर्न नेपालका होटलले पनि यो चलन सुरु गरेको धेरै भएको होटेल सोल्टीले जनाएको छ । होटलले यो कार्यक्रम गरेको यो २१औं वर्ष भएको जनाएको छ ।

 

नेपालको सन्दर्भलाई हेर्ने हो भने तारे होटलहरूले यसलाई आ–आफ्नो ढंगबाट मनाइँदै आएका छन् । हाम्रो मौलिक संस्कृति कला छुट्टै भए पनि तारे होटलहरूले पर्यटकको मनोरञ्जनको निम्ति प्रत्येक वर्ष हलोइन, क्रिसमस आदिमा केक मिक्सिङलाई पनि प्राथमिकता दिने गरेको पाइन्छ । –कारोबार दैनिक