
मंसिर २१, भक्तपुर । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको क्रममा आज भक्तपुरमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा तिन जना घाइते भएका छन् ।
भक्तपुर क्षेत्र नं. २ को सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित गणेश प्रावि केन्द्र आसपासको क्षेत्रमा झडप भएको हो ।
मतदान भइरहेको स्थलमा एमालेका कार्यकर्ता आएर विवाद गरेको काँग्रेसका प्रतिनिधिले आरोप लगाएका छन् भने काँग्रेसले विवाद निकालेको एमालेले आरोप लगाएको छ ।
विवादबीच मतदान केन्द्र नजिकै झडप भएपछि विवाद गर्ने पक्षबीच भागदौड भएको र रोज भिलेज अगाडि दुबै पक्षबीच ढुङ्गा हानाहान भएको प्रतक्ष्यदर्शीले बताएका छन् । काँग्रेसका प्रतिनिधिले एमालेले काँग्रेसको क्षेत्रमा आएर ढुङ्गा हानेर घरको सिसा फुटाएको आरोप लगाएको छ भने एमालेले काँग्रेसका कार्यकर्ताले ढुङ्गा हानेको आरोप लगाएको छ ।
ढुङ्गा हानाहानबाट रोज भिलेज आसपासका क्षेत्रमा करिब १५ वटा घरको सिसा फुटेर क्षति पुगेको छ भने त्यहाँका वासिन्दा आतंकित बनेका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले विवादित क्षेत्रमा मतदान स्थगित नभएको र मतदान जारी रहेको बताए ।
यता मध्यपुरथिमि नगरपालिका कौसलटार र सूर्यविनायक नगरपालिका बालकोट जोड्ने पुलमुनि बम भेटिएको छ । बम भेटिएको खबरपछि आएको नेपाली सेनाको टोलीले बमलाई निस्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ ।