शनिबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई २ – १ ले पराजित

१६ पुष २०७४, आईतवार ०५:२६

पुस १६, काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले लेष्टर सिटीलाई २ – १ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुलले पहिलो हाफको अग्रता उल्टाएर जित निकालेको हो । लिभरपुललाई जित दिलाउन दुवै गोल मोहमद सलाहले गरेका थिए । लेष्टरका जेमी भर्डीले एक गोल गरेका थिए ।  एनफिल्डमा सुरुवाती अग्रता पाहुना टोलि लेष्टर सिटीले लिएको थियो । खेलको तेस्रो मिनेटमा नै भर्डीले गोल गर्दै लेष्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको लिभरपुल दोस्रो हाफमा खेलमा फर्कियो । लिभरपुलको लागि नायक बने, सलाह ।

खेलको ५२ औं मिनेटमा सलाहले पहिलो गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७६ औं मिनेटमा सलाहले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २ – १ को जित दिलाए । लेष्टरविरुद्ध दुई गोल गरेसँगै यसै सिजन क्लब आएका सलाहले प्रिमियर लिगमा १७ औं गोल गर्न सफल भए । यो जितसँगै चौथो स्थानको लिभरपुलले २१ खेलबाट ४१ अंक जोडेको छ । पराजित लेष्टर २७ अंक जोडेर सातौं स्थानमा छ ।

इंग्लिश प्रिमियर लिग अन्तर्गत नै शनिबार राति एभर्टन बर्नेमाउथसँग २ – १ ले पराजित भएको छ । यस्तै स्वान्सी सिटीले वाट्फोर्डलाई २ – १ ले नै पराजित गर्दा हडर्स्फिल्ड र बर्नली तथा न्युकासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।–एजेन्सी