धान उत्पादनमा सरकारको लक्ष्य चुक्यो

१६ पुष २०७४, आईतवार ०३:४१

पुस १६, काठमाडौं । सरकारले इतिहासमै सबैभन्दा बढी धान उत्पादन गर्ने लक्ष्य लिए पनि धान उत्पादन भने घटेको छ । चालू आर्थिक वर्षमा ५४ लाख मेट्रिक टन धान उत्पादन गर्ने सरकारी लक्ष्य भएपनि धानको उत्पादन भने गत वर्षको तुलनामा घटेको हो । सरकारी तथ्यांकअनुसार गत वर्ष ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, चालू आर्थिक वर्षमा भने धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि विकास मन्त्रालयको तथ्यांक छ ।

तथ्यांकअनुसार पूर्वाञ्चालमा १४ लाख ५४ हजार १ सय ५९ मेट्रिन टन धान उत्पादन भएको छ । त्यस्तै, मध्यमाञ्चालमा १३ लाख ९० हजार १ सय ३६ मेट्रिन टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, पश्चिमाञ्चलमा १० लाख ८८ हजार ९ सय ६८ मेट्रिन टन धान उत्पादन भएको छ । त्यस्तै, मध्यपश्चिममा ६ लाख ४ सय ६७ मेट्रिन टन धान उत्पादन भएको छ ।

धानको उत्पादन घटेपछि सरकार आफ्नो लक्ष्यमा पुग्न चुकेको छ । कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले गत साउनमा तराईमा गएको बाढीका कारण धानको उत्पादन लक्ष्यमा पुग्न नसकेको बताए । तराईमा बाढीका कारण २५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएकाले धानको उत्पादनमा कमी आएको उनको भनाई छ । तर, धानको उत्पादनलाई कम उत्पदन भएको भन्न नमिल्ने उनको तर्क छ । उनले गत वर्षको तुलनामा कम देखिए पनि अन्य वर्षको तुलनामा बढी नै भएको बताए । कृषि विकास मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा करिब ९४ प्रतिशत रोपाई भएको थियो ।

मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा कुल १५ लाख ५२ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाई भएको थियो । मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा रोपाई भएको कृषि विकास मन्त्रालयको तथ्यांक रहेको छ । गत वर्ष ५२ लाख मेट्रिन टन धान उत्पादन भए पनि अघिल्लो वर्ष ४२ लाख मेट्रिन टन धान उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । यो प्रारम्भिक तथ्यांक मात्रै भएको र वर्षे बालीको तथ्यांकसहित समग्र तथ्यांक केही दिनभित्रै सार्वजनिक गरिने मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए । – राजधानी दैनिक