
महेश दास पुस ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ रघुनाथपुरको पटेलनगर स्थित सुपर ग्यास उद्योगमा आज बिहान भीषण आगलागी भएको छ ।
आगो निभाउन गएको महानगरपालिकाको दमकल जल्दा त्यसमा कार्यरत दुईजना कर्मचारीको जलेर मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । आगलागी भएसँगै त्यहाँ पुगेको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलले आगो निभाउने प्रयास गर्दा गर्दै ती दुबै जना कर्मचारीको जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा मधुसूदन मिश्र र यादव प्रसाद अधिकारी रहेको छ । बारुणयन्त्रका कर्मचारी अम्विका पटेल, सञ्जीव नेपाल, अरुण महतोलगायत ६ जना जलेर सख्त घाइते भएको दमकलका निमित्त इन्चार्ज शेरबहादुर कार्कीले बताए ।
यद्यपि पर्सा प्रहरीले मृत्युबारे पुष्टि भने गर्न नसकेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताए । सो आगलागीमा परी सख्त घाइते भएका मध्ये अग्नि नियन्त्रक अरुण कुमार महतो र सञ्जीव नेपाललाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको छ । बिहान ६ बजे तिर प्लान्टमा ग्यास लिकेज भएर आगलागी हुँदा आगो नियन्त्रण भन्दा बाहिर गए पछि प्रहरीले जगरनाथपुर , सुखचैना लगायतका एक किलोमिटर वरिपरि रहेको बस्ती खाली गराइएको छ । हाल सम्म आगो नियन्त्रण बाहिर गए पछि आगो निभाउन अमलेखगञ्जबाट ल्याइएको नेपाल आयल निगमको दमकल र वीरगञ्ज स्थित महावाणिज्य दूतावासले भारतको रक्सौलबाट मगाएको थप एक अर्काे दमकल झिकाइए पनि भीषण आगलागीका कारण घटना स्थल सम्म दमकल जान सकेको छैन ।
