शिक्षा मन्त्रालयका कर्मचारी अब प्रदेश मन्त्रालयमा

२६ मंसिर २०७४, मंगलवार ०२:०३

मंसिर २६, काठमाडौं । प्रदेश मन्त्रालयको अन्तिम संरचनामा जाने कर्मचारीको उमेर ५५ वर्ष ननाघेको हुनुपर्नेछ । मेडिकल बोर्डबाट सिफारिस गरिएको दीर्घारोगी र कडा रोगी भएकाले प्रदेश सरकार अन्र्तगतको मन्त्रालयमा काम गर्न नपाउने भएका छन् ।

त्यस्तै हिँडडुल गर्न सहायता आवश्यक पर्ने कर्मचारीलाई पनि प्रदेश मन्त्रालयको अन्तरिम संरचनामा प्रवेश निषेध गरिउको छ । महिला कर्मचारीको हकमा सुत्केरी भएका ६ महिना ननाघेको र ६ महिना नाघेका गर्भवती महिला कर्मचारीले समेत प्रदेशस्तरको मन्त्रालयमा काम गर्न नपाउने भएका छन् । सामान्य प्रशासन मन्त्रालयले तयार पारेको मन्त्रालयको अन्तरिम संरचना र आवश्यक पर्ने विवरणमा उक्त विषय उल्लेख गरिएको छ ।  प्रदेशमन्त्रालयमा कर्मचारी खटाएर काम प्रारम्भ गर्नुपर्ने भएकाले सामान्य प्रशासन मन्त्रालयले शिक्षा मन्त्रालयलाई तीन दिनभित्र कर्मचारी खटाउन निर्देशन दिएको हो । सामान्यले शिक्षा मन्त्रालयलाई अत्यन्त गोभ्य पत्र पठाएर तत्काल कर्मचारी पठाउन निर्देशन दिएको हो । मन्त्रालयले गत आइतवार शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो ।

शिक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गरी तीन दिनभित्र प्रदेश मनत्रालयमा जान इच्छुक कर्मचारीले नाम पठाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. हरि लम्सालले सूचना जारी भएलगत्तै कर्मचारीको निवेदन आउन थालेको बताए । उनले भने–‘सूचना सार्वजनिक गरेपछि धमाधम निवेदन आउन थालेका छन् । सामान्य प्रशासन मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीको प्रदेश सचिव ३ जना, प्रथम श्रेणीको सहसचिव ७ जना, राप्र द्वितीय श्रेणीका उपसचिव ४२ जना र शाखा अधिकृत ८४ जना माग गरेको छ । सबै गरी शिक्षा सेवाका १ सय ३६ जना कर्मचारी आवश्यकता पर्ने भएको छ ।–नेपाल समाचार पत्र