मिडिया हब र सञ्चालक भाष्करराज नै कालो सूचीमा, ‘बेलासे’को विजोग

२८ मंसिर २०७४, बिहीबार १६:१९

मंसिर २८, काठमाडौं । विज्ञापन एजेन्सी मिडिया हब प्रालि र यसका प्रमुख भाष्करराज राजकर्णिकार सहित अन्य दुई सञ्चालक कालो सूचीमा परेका छन् । कालो सूचीमा कार्यकारी निर्देशक सोम धिताल र निर्देशक रञ्जित आचार्य समेत परेका हुन् ।

सुबि फिल्मस् प्रालिका नाममा काटेका तीनवटा चेक बाउन्स् भएपछि नेपाल इन्भेष्टमेण्ट बैंकले मिडिया हवलाई कालो सूचीमा राख्न कर्जा सूचना केन्द्र लिमिटेडलाई पत्राचार गरेको थियो । त्यही पत्रलाई आधार मानेर कर्जा सूचना केन्द्रले मिडिया हव र यसका सञ्चालकहरुलाई कालो सूचीमा राखेको हो ।
(हेर्नुहोस् इन्भेष्टमेण्ट बैंक र कर्जा सूचना केन्द्रको पत्र)

 

कालो सूचीमा परेपछि मिडिया हव र यसका सञ्चालकले सेयर खरिद बिक्रि र नयाँ संस्था खोल्ने लगायतका कार्य गर्न पाउने छैनन् । यति मात्र होइन यही कसुरमा सञ्चालकहरुलाई प्रहरीले पक्राउ समेत गर्न सक्ने वकिल राजिव पोखरेल बताउँछन् । ‘कालो सूची कुनै पनि संस्थामा लाग्ने सवैभन्दा ठूलो धब्बा हो’, वकिल पोखरेल बताउँछन् ।

स्मरण रहोस् सुबि फिल्मस्ले निर्माण गरेको नेपाल टेलिभिजनवाट प्रशारित चर्चित टेलिफिल्म ‘भद्रगोल’ को मिडिया हवले प्रसारण प्रायोजन गरेको थियो । यही वापतको रकम दिनेक्रममा चेक बाउन्स् भएको सुबि फिल्मस्ले जनाएको छ । मिडिया हवले यी तीन वटै बाउन्स् भएका चेक सुबि फिल्मस्का प्रबन्ध निर्देशक सुवास कार्की ‘बेलासे’को नाममा काटेको थियो । जसमध्ये २ वटा चेक मिडिया हबको एकाउन्ट र एउटा चेक सोम धितालको व्यक्तिगत खाताबाट काटिएको थियो । कर्जा सूचना केन्द्रका अनुसार यथेस्ट प्रमाणका आधारमा मिडिया हबलाई कालो सूचीमा राखिएको हो ।

 

‘बेलासे’ को विजोग

नेपाल टेलिभिजनको चर्चित हाँस्य टेलिचलचित्र ‘भद्रगोल’का निर्माता तथा चर्चित कलाकार सुवास कार्की ‘बेलासे’ लाई मिडिया हबले विजोग गराएको छ । निर्माण पक्षले ५६ हजार ५ सय प्रति शृङखला पाउने कागज भएपनि मिडिया हबले उक्त रकम दिन लामो समय आनाकानी गरेको थियो । त्यसपछि दिएका तीनवटै चेक पनि बाउन्स भएका थिए । इमान्दार ‘बेलासे’ का तीन चेक बाउन्स भएपछि उनी न्यायको खोजीमा छन् ।

बाउन्स् भएका चेक

मिडिया हवले सुबि फिल्मस्का लागी तीन वटा चेक काटेको थियो, जो बाउन्स भए । जसमध्ये पहिलो २०७४ बैशाख १७ गते ७ लाख २५ हजारको, सोही बर्षको जेठ १५ गते १० लाखको र सोही महिनाको २० गते पुनः १० लाखको चेक काटेको थियो । नेपाल इन्भेष्टमेण्ट बैंक प्रालि –००१०१००३४३६५ मिडिया हबको खाता नं हो । यस्तै सोम धितालको नाममा रहेको खाता नम्बर ००१०५०१००८०६४६ हो ।