ब्रजिल र क्यानेडाका कूटनीतिज्ञलाई देश निकाला

९ पुष २०७४, आईतवार ०५:०८

पुस ९, काठमाडौं । भेनेजुएलाले ब्रजिलका राजदूत र क्यानेडाका कार्यवाहक राजदूतलाई देश निकाला गर्ने निर्णय गरेको छ।

 

भेनेजुएलाको शक्तिशाली संविधानसभाकी प्रमुखले क्यानेडाले भेनेजुएलाको आन्तरिक मामिलामा निरन्तर हस्तक्षेप गरेको र आफ्नी पूर्व राष्ट्रपति जिल्मा रुसेफविरुद्ध महाभियोग लगाउँदा ब्रजिलले कानून मिचेको आरोप लगाएकी छन्।  ब्रजिलले उक्त कदमले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको प्रशासनको ‘अधिनायकवादी’ चरित्र पुनः प्रकट भएको प्रतिक्रिया दिएको छ।   क्यानेडाले उक्त कदमबाट डराएर भेनेजुएलाविरुद्ध नरम नीति नअंगाल्ने बताएको छ।भेनेजुएलाको संविधानसभाकी प्रमुख डेल्सी रोड्रिगेसले क्यानेडामाथि भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र ब्रजिलमाथि कानूनको शासन उल्लंघन गरेको आरोप लगाइन्।  केही महिनाअघि मात्रै भ्रष्टाचार र मानवअधिकार उल्लंघनलाई देखाउँदै क्यानेडाले भेनेजुएलाका उच्च अधिकारीहरुमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

ब्रजिलले हालै राष्ट्रपति मडुरोले विपक्षीहरुमाथि निरन्तर दुर्व्यवहार गरिरहेको बताएकाले उसका राजदूतलाई देश निकाला गरिएको ठानिएको छ।  मध्य दक्षिणपन्थी नेता मिसेल टेमेयरले ब्रजिलकी वामपन्थी नेतृ रुसेफलाई सत्ताबाट विस्थापित गरेयता भेनेजुएला र ब्रजिलबीचको कूटनीतिक सम्बन्ध विग्रिएको छ।  रुसेफमाथिको महाभियोगलाई मडुरोले दक्षिणपन्थी कू को संज्ञा दिएका थिए।   शनिवार आयोजित पत्रकार सम्मेलनमा संविधानसभाकी प्रमुख रोड्रिगेसले संवैधानिक प्रक्रिया पुनस् कायम नगर्दासम्म ब्रजिलसँग कूटनीतिक सम्बन्ध कायम नराख्ने बताइन्।    उनले क्यानेडाले भेनेजुएलाको आन्तरिक मामिलामा क्रुर र अश्लीलु ढङ्गले हस्तक्षेप गरेको बताइन्।

विपक्षी नियन्त्रित राष्ट्रिय सभाको ठाउँ लिने गरी संविधानसभा स्थापना गर्ने राष्ट्रपति मडुरोको निर्णयको आलोचना गर्ने धेरै देशहरुमध्ये क्यानेडा र ब्रजिल पनि थिए।  जुलाइमा भएको चुनाव विपक्षी दलले बहिष्कार गरेका थिए र अमेरिका, युरोपेली संघ र कतिपय ल्याटिन अमेरिकी संगठनहरुले संविधानसभालाई मान्यता दिएका छैनन्।  उक्त निर्णयको विरोधमा भएका प्रदर्शनहरुमा ४ महिनामा एक सय २० जनाभन्दा बढीको ज्यान गएको छ।  अमेरिकाले मडुरोमाथि प्रतिबन्ध लगाएको छ र ट्रम्प प्रशासनले उनी ‘तानाशाह’ भएको बताएको छ।  मडुरोको ६ वर्षे कार्यकाल सन् २०१९ मा सकिँदैछ तर उनले अर्को वर्ष हुने निर्वाचनमा पुनः उम्मेदवारी दिने बताएका छन्।  विपक्षीहरुले मडुरो र उनका पूर्ववर्ती ह्युगो चाभेजले आफ्ना समाजवादी नीतिका कारण देशको अर्थतन्त्रलाई ‘ध्वस्त’ बनाएको आरोप लगाउने गरेका छन्।  भेनेजुएलाको महँगी दर संसारकै उच्चमध्येमा पर्छ र वर्षौंदेखि उसले अत्यावश्यक उपभोग्य सामाग्री र औषधिको अभाव झेल्दै आएको छ।