प्रदेशमा वरीयता क्रमको दोस्रो सूचीमा मुख्यमन्त्री

५ पुष २०७४, बुधबार ०२:४३

पुस ५, काठमाडौं । सरकारले प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसदलाई समेटेर नयाँ वरीयता क्रम निर्धारण गर्ने तयारी गरेको छ । यसअघि निर्धारण गरिएका वरीयता क्रममा उनीहरूलाई समेटिएको थिएन । गृह मन्त्रालयले नयाँ वरीयता क्रमको मस्यौदा तयार भइसकेको जनाउँदै अब बस्ने मन्त्रिपरिषद बैठकमा पेस गर्ने जानकारी दिएको छ ।

 

गृह मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीले वरीयता क्रमको मस्यौदा तयार भएको बताए । ‘प्रदेश प्रमुख, मुख्यमन्त्री, मन्त्री तथा सांसद समेटेर वरीयता क्रम तोकिएका छन् । मस्यौदा अब बस्ने मन्त्रिपरिषद बैठकमा पेस हुनेछ, त्यसपछि कार्यान्वयनको चरणमा आउला,’ उनले भने । वरीयता क्रमको सबैभन्दा माथिल्लो सूचीमा प्रदेश प्रमुखलाई राखिएको छ । प्रदेश प्रमुख संघीय संसद्को सभामुखसरह रहनेछन् । समग्र सूचीमा संघीय संसद्का सभामुख वरीयता क्रमको पाँचौँ स्थानमा रहन्छन् ।

प्रदेशमा वरीयता क्रमको दोस्रो सूचीमा मुख्यमन्त्री राखिएका छन् । मुख्यमन्त्री केन्द्रको उपप्रधानमन्त्रीसरह रहनेछन् । समग्र सूचीमा उपप्रधानमन्त्रीको वरीयता छैटौँ स्थानमा छ । वरीयता क्रमको तेस्रो सूचीमा प्रदेशमन्त्री राखिएका छन् । प्रदेशमन्त्रीको वरीयता क्रम संघीय सरकारको राज्यमन्त्री सरह हुनेछ । समग्र सूचीमा राज्यमन्त्रीको वरीयता क्रम आठौँ स्थानमा छ । प्रदेश सभाका संसद्को वरीयता क्रम भने संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद सचिवालयका महासचिवसरह राखिएका छन् ।
–नयाँपत्रिका दैनिक