पौने ५ अर्बले रेमिट्यान्स घट्यो

१० पुष २०७४, सोमबार ०४:५४

पुस १०, काठमाडौं । अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आउने क्रम घट्न थालेको छ । चालु आर्थिक वर्षको कात्तिकमा रेमिट्यान्स आप्रवाह पौने ५ अर्ब घटेको हो । चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण आप्रवाह समीक्षा अवधिमा विप्रेषण आप्रवाह २२८ अर्ब ९५ करोडमा झरेको छ । गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २३२ अर्ब १४ करोड रुपैयाँ थियो । गत आवको कात्तिकको तुलनामा चालु आवको सोहि अवधीमा विप्रेषण आप्रवाह ४ अर्ब ८१ करोड अर्थात १.४ प्रतिशतले घटेको हो ।

चालु आवको ४ महिनामा खुद ट्रान्सफर आय ६.७ प्रतिशतले वृद्धि भई २६५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २३.२ प्रतिशतले बढेको थियो । विपे्रषण आप्रवाहलाई प्रत्यक्ष प्रभाव पार्ने वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्यामा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष ०७४ को चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा ७.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २०।९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।
अघिल्लो वर्षको चार महिनामा १ अर्ब ८६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २५ अर्ब ८१ करोड रुपैयाँले घाटामा रहेको छ । त्यसैगरी, अघिल्लो वर्षको चार महिनामा २१ अर्ब ९८ करोड रुपैयाँले बचतमा रहेको समग्र शोधनान्तर समीक्षा अवधिमा २ अर्ब ४० करोडले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ ।

मूल्यवृद्धि बढ्यो

२०७४ असोजमा वार्षिक बिन्दूगत उपभोक्ता मुद्रास्फीति ३.१ प्रतिशत रहेकोमा २०७४ कात्तिकमा तरकारी, मदिराजन्य पेय पदार्थलगायतमा भएको मूल्यवृद्धिले समग्र वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीतिमा केही वृद्धि भई ३.९ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८ प्रतिशत थियो ।

सरकारी ढुकुटीमा सञ्चिति बढ्यो

सरकारको नगद मौज्दात स्रोत परिचालनको तुलनामा सरकारी खर्च न्यून भएकाले २०७४ कात्तिक मसान्तसम्ममा सरकारी ढुकुटीमा ३०८ अर्ब ७४ करोड रुपैयाँ मौज्दात कायम रहेको छ ।
चालु आवको कात्तिकसम्ममा नेपाल सरकारको कुल राजस्व संकलन १६.३ प्रतिशतले वृद्धि भई १९५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व ८१.५ प्रतिशतले वृद्धि भई १६८ अर्ब ४ करोड पुगेको थियो । समीक्षा अवधिमा राजस्व संकलन लक्ष्यभन्दा कम छ । नेपाल सरकारको राजस्व संकलन उच्च भन्सार शुल्क सम्बन्धित आयातसँग संवेदनशील रहँदै आएको छ ।
चालु आवको कात्तिकसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दूगत आधारमा ०७४ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १४।९ प्रतिशतले बढेको छ । ०७४ कात्तिकमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ७.९ प्रतिशत, ३६।२ प्रतिशत र ४२.३ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
०७३ कात्तिकमा ९१ दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.० प्रतिशत रहेकोमा ०७४ कात्तिकमा २.५५ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरूबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने ०७३ कात्तिकको ३.५९ प्रतिशतको तुलनामा २०७४ कात्तिकमा २.६८ प्रतिशत रहेको छ । त्यसैगरी, वाणिज्य बैंकहरूको औसत आधार ब्याजदर ०७३ कात्तिकको ६.५५ प्रतिशतको तुलनामा ०७४ कात्तिकमा १०.११ प्रतिशत पुगेको छ ।–कारोबार दैनिक