धर्म–संस्कृतिको संरक्षण र प्रवद्र्धनमा केन्द्रित हुनुपर्छ : राष्ट्रपति भण्डारी

१० पुष २०७४, सोमबार ०२:०४

पुस १० काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिन् ।

क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गरी उनले नेपाल बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रुपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेका बताएकी छिन् ।

नेपालीबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हामी सबै केन्द्रित हुनुपर्नेमा जोड दिँदै राष्ट्रपतिले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको ऐतिहासिक चुनावमा आम नेपाली मतदाताबाट भएको अभूतपूर्व सहभागिताले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने र यसबाट देशलाई राजनीतिक स्थायित्व प्राप्त हुने विश्वास व्यक्त गरिन् ।

आगामी दिनमा हुने नेपालको विकास र समृद्धिमा सबै नेपालीले आ–आफ्नो स्थानबाट सक्दो योगदान गर्नसकेमा नेपालको चौतर्फी प्रगति छिटो हुनेछ भन्ने विश्वास लिँदै इसाई धर्मावम्बीको यस पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त समुन्नत नेपाल बनाउन सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेकी छिन् ।