अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप

१५ मंसिर २०७४, शुक्रबार ०४:४८

मंसिर १५, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेइ लाभारोभले अमेरिकाले उत्तर कोरियालाई परमाणु क्षेप्यास्त्र कार्यक्रमका लागि उक्साएको आरोप लगाएका छन् ।

संयुक्त राष्ट्रसंघका निम्ति अमेरिकी राजदूतले उत्तर कोरियासँग सम्बन्ध विच्छेद गर्न गरेको आग्रहलाई आफूले अस्वीकार गरेको समेत उनले जनाएका छन् ।

उत्तर कोरियासँग वार्ताको माध्यमबाट समस्या समाधान गर्ने रुसी चाहना रहेको लाभारोभले बताए । हरेक समस्याको समाधान कुटनीतिक माध्यमबाट खोज्नुपर्ने बताउँदै लाभारोभले आर्थिक प्रतिबन्धले काम नगरेको जिकिर गरे ।

अमेरिकाले भने उत्तर कोरियाले परमाणु कार्यक्रम नरोके ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै आएको छ । (एजेन्सी)