
मंसिर १२, काठमाडौं । मापण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूचीमा राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशमा कलेजको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस (डिजिएचए) र बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिल –बिएम एण्ट डिसी) ले २१ वटा र नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको हो ।
बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हाराहारीमा जाने गरेका छन् । अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झण्डै २ सय नेपाली विद्यार्थी समस्यामा परेका नेपाल शैशिक्षक परामर्श संघ (इक्यान) ले जनाएको छ । इक्यानका अध्यक्ष प्रकाश पाण्डेका अनुसार २१ वटा कलेजमा भर्ना रोक लगाए पनि अध्ययन थालिसकेका विद्यार्थीलाई ठूलो समस्या नभएको बताए । इक्यानले विद्यार्थी तथा अभिभावकलाई अन्यौल नभएको भन्दै बंगलादेशमा रोक लगाएका कलेजहरुको सूचीसमेत सार्वजनिक गरेको छ ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले नेपाली विद्यार्थीलाई बंगलादेशका कलेजहरुमा मेडिकल शिक्षा अध्ययन गर्न पूर्ण रुपमा रोक नलगाएको बताए । अध्यक्ष पाण्डेले नेपालका विश्वविद्यालयहरुले लिने प्रवेश परीक्षा उत्रीर्ण गरेका तथा नेपाल मेडिकल काउन्सिलको सहमतिमा प्राप्त गरेका विद्यार्थी अध्ययनका लागि जान सक्ने बताए । भर्नाका लागि रोक लगाएका कलेजमा भर्ना नहुनसमेत इक्यानले आग्रह गरेको छ । – नयाँ पत्रिका