एडिबिले क्षेत्रीय सहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने

११ मंसिर २०७४, सोमबार ११:३१

मंसिर,११ काठमाण्डौ ।

एशियाली विकास बैंकले क्षेत्रीय सहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ।

ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव शंकरप्रसाद अधिकारी र बैंकका देशीय निर्देशक मोख्तर खामुदखानोभले हस्ताक्षर गरे।  आगामी पाँच वर्षभित्रमा वीरगंज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भीमदत्तनगर, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको सहरी पूर्वाधार निर्माण तथा सहरी सेवा प्रवाहलाई प्रभावकारी तुल्याउन उक्त ऋण खर्च गरिनेछ।  परियोजनाअन्तर्गत आठ नगरपालिकामा २०० किलोमिटर भन्दा बढी ढल निकास, २४० किलोमिटर सडक सुधार, ४० किलोमिटर पैदलयात्री मार्ग निर्माण तथा चार स्थानमा व्यवस्थित ढंगले फोहर व्यवस्थापन स्थल निर्माण गरिनेछ।

सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सचिव अधिकारीले परियोजना सम्पन्न भएपछि नगरपालिकाहरुलाई दिगो आम्दानीको स्रोत प्राप्त हुनाका साथै सहरी वातावरण कायम गर्न मद्दत पुग्ने बताए।  देशीय निर्देशक खामुदखानोभले नेपाल सरकारको राष्ट्रिय सहरी विकास रणनीति कार्यान्वयनमा मद्दत पुग्ने उल्लेख गर्दै नेपाल सरकारसँग मिलेर काम गर्न एडिबी सदा तयार रहेको राससले समाचार लेखेको छ ।