निर्वाचनमा कहाँ के भयो ?

१० मंसिर २०७४, आईतवार ०९:२८

मंसिर १०, काठमाण्डौं ।
रुकुमस्थित बाफिकोट गाउँपालिका काडाँमा रहको रत्न मावि ‘क’ मतदान केन्द्रमा मतपेटिका जलाइएको छ । नेत्र विक्रम चन्दको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मतपेटिका आगजनी गरेको प्रहरीले बताएको छ ।

घटनामा संलग्न ३ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता सिन्धुपाल्चोकको एक मतदान केन्द्रमा झडप हुँदा अवस्था केहिबेर तनावपूर्ण बन्न पुग्यो । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा नेपाली कांग्रेस र बाम गठबन्धनका कार्यकर्ताबीच झडप भएको हो । एमालेका कार्यकर्ता विना अनुमति सवारी साधन चलाएको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।  झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको हो । झडपको कारण केही बेर रोकिएको मतदान अहिले संचालन भइरहेको छ ।

मुस्ताङमा दिउँसो दुई बजेसम्म ५१ प्रतिशत मतदान खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका केही मतदान केन्द्रमा चिसोका कारण मतदाताहरु केही ढिलो पुगेका कारण प्रतिशत कम भएको आँकलन गरिए पनि मतदान सुचारु भएको पाईएको छ ।
जिल्लाका सम्पूर्ण मतदान केन्द्रहरुमा सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पकविहीन

उपल्लो डोल्पाका दुई मतदान केन्द्र अझै सम्पकविहीन भएका छन् ।उपल्लो डोल्पाका छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्रमा अझै सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

डोल्पामा ६६ मध्ये ६४ मतदान केन्द्रमा सम्पर्क भएको र अहिलेसम्म ३७ प्रतिशत मत खसिसकेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए । उपल्लो डोल्पाको शे–फोक्सुन्डो गाउँपालिकास्थित २३ मतदाता भएको फोदगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको प्रहरीले जनाएको राससले उल्लेख गरेको छ ।

सिरहामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते

सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।गोली कसले र किन चलाएको भन्ने खुलेको छैन ।

बारामा बम बिष्फोट

बारामा बम बिष्फोट , शंकास्पद एक जना पक्राउ श्याम गुप्ता बारा , १० मंसिर बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ टाँगियाबस्ती नजिकै आईतवार टिफिनकारी बम बिष्फोट भएको छ । सो बम बस्ती भन्दा केहि पर जङ्गल नजिकै बिष्फोट भएकाले कुँनै प्रकारको मानविय क्षती भने नभएको तर , स्थानीयमा भने त्रास छाएको हो । टाँगियाबस्तीमा वाम गठबन्धनले गरिरहेको घरदैलो र सभालाई बिथोल्न उक्त बम बिष्फोट गराईएको स्थानीयको भनाई रहेको छ । यसैबिच प्रहरीले शंकास्पद एक जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ बस्ने अन्दाजी ३५ , ४० बर्षका कासी तिमलसिना रहेका छन् । प्रहरीको नियन्त्रणमा रहेका तिमलसिनाको बारेमा अहिले अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक भुवन भट्टले बताएका छन् ।