मंसिर १०, पोखरा । कास्कीका चार गाउँपालिकाका कुनै पनि वडाले नछोएको र महानगरका वडा मात्र रहेको कास्की क्षेत्र नं २ मा महानगरस्तरीय विकासको चुनावी मुद्दा बनाएर उम्मेदवार यतिखेर घरदैलोमा व्यस्त छन् ।
महानगर घोषणा भएर पनि अधिकांश वडा विकासको पूर्वाधारबाट वञ्चित भएकाले यसलाई उम्मेदवारले मतादातामाझ चुनावी मुद्दा बनाएका हुन् । कास्की क्षेत्र नं १ मा तालको संरक्षण र विकास प्रमुख चुनावी मुद्दा बनेको छ भने क्षेत्र नं २ मा पदयात्रा पर्यटनको विकासलाई दलले चुनावी नारा बनाएका छन् । सो क्षेत्रमा पर्ने वडालाई महानगरस्तरीय विकास गर्छौं भन्दै उम्मेदवारले भोट माग्ने गरेको कास्की भरतपोखरीका सहदेव पौडेलले बताए । “महानगर भएर पनि त्यहीरुपमा यहाँका वडा विकसित बन्न सकेका छैनन्”– उनले भने, “भरतपोखरी, निर्मलपोखरीलगायत ठाउँ नगरपालिका हुँदै महानगरमा समेटिए पनि विकास हुन् सकेको छैन् ।” तीन निर्वाचन क्षेत्र भएको कास्कीमा कूल दुई लाख ५५ हजार ४५२ मतदातामध्ये क्षेत्र नं २ मा ७० हजार ६५१ मतदाता रहेका छन् । कास्कीे क्षेत्र नं २ को प्रदेश (क) मा पोखरालेखनाथ महानगरपालिकाका वडा नं ७, १५, १७, २१ र ३३ पर्दछन् भने प्रदेश (ख) मा ४, ८, ९, ११, १६ र २० नं वडा पर्दछन् । नेपाली काँग्रेस र वाम गठबन्धनबीच नै प्रमुख प्रतिष्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका देवराज चालिसे र वाम गठबन्धनका रवीन्द्र अधिकारी उम्मेदवार रहेका छन् ।
विद्यार्थी राजनीतिदेखि नै आफूलाई क्रियाशील बनाएका दुई युवा नेताको चुनावी प्रतिष्पर्धालाई निकै महत्वका साथ हेरिएको छ । महानगरलाई प्रविधिमैत्री शहरका रुपमा विकास गर्नु आवश्यक रहेको वाम गठबन्धनका उम्मेदवार अधिकारी बताउछन् । महेन्द्र गुफा, गुप्तेश्वर गुफाका साथै अन्य पर्यटकीयस्थलको व्यवस्थित विकास आवश्यक रहेको उनले बताए । यस निर्वाचन क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गुफाका साथै हिमाली शृङ्खलासहित पोखरा तथा लेखनाथका दृश्य एकसाथ हेर्न सकिने हुडिकोट, बरपाण्डेथुम, फोक्सिङकोटजस्ता स्थल रहेका छन् । काहुँ टावर, भलामकोट, अर्मलाकोट पनि यहाँका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । धार्मिक एवं ऐतिहासिकरुपमा महत्व राख्ने भरतपोखरीको बरस्थित मल्लकालीन कोटभैरव मन्दिर, पोखरा– १७ स्थित राममन्दिर, गुप्तेश्वर महादेव, भलामस्थित हरिहर महादेव पनि धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने स्थल हुन् ।
पर्यटकीय गन्तव्यसहित महानगरका वडाले समेटिएको यस क्षेत्रलाई व्यवस्थित विकास गर्दै सुन्दर शहरका रुपमा अघि बढाउनु पहिलो आवश्यकता भएको काँग्रेसका उम्मेदवार चालिसे बताए । “यस क्षेत्रमा रहेका महानगरका वडालाई व्यवस्थित गर्नु पहिलो आवश्यकता हो”– उनले भने, “दीर्घकालीन सोचका साथ बाटोघाटो निर्माण, खानेपानीका साथै व्यवस्थित पार्क यहाँका अपरिहार्य आवश्यकता हुन् ।” समृद्ध नगरका रुपमा विकास गर्न बृहत्तर गुरुयोजनाका साथ अघि बढ्नु आवश्यक भएको चालिसे बताउनुहुन्छ । व्यावसायिक कृषिको पर्याप्त सम्भावना रहेका सुरौदी फाँटका साथै तरकारी तथा दूधको उत्पादनले व्यावसायिकतातर्फ प्रवेश गरेका अर्मला, बाटुले चौर, मौजा, भलाम बाघमाराजस्ता स्थानमा व्यावसायिक कृषिको विकास गर्नसकिने देखिन्छ ।
सुरौदी फाँट, पुडिटार, बाघमारा लगायतका क्षेत्रमा व्यावसायिक कृषिको प्रचुर सम्भावना रहेको नयाँ शक्ति पार्टीका तर्फबाट कास्की क्षेत्र नं २ को प्रदेश ९क० का उम्मेदवार हेमबहादुर थापा (किरण)ले बताए । “सुरौदी जलाधारको बृहत्तर गुरुयोजनाका साथ उपयोग गर्ने हो भने समग्र पोखरालाई नै आवश्यकपर्ने खाद्यान्न यहीबाट उत्पादन गर्न सक्ने देखिन्छ”– उनले भने, “कृषिको व्यावसायिक विकासका साथै महानगरस्तरीय भौतिक पूर्वाधारका विषय मतदाताले घरदैलोका क्रममा उठाएका छन् ।”
उम्मेदवारी दर्ता भएसँगै विकास निर्माणका मुद्दा लिएर उम्मेदवार गाउँ बस्तीमा आउनेक्रम निरन्तर चलिरहेको पोखरा १७ का मतदाता रमेश सुवेदीले बताए । ग्रामीण भू–भागमा रहेका महानगरका वडाको तत्काल विकास आवश्यक रहेको बताउँदै उनले शहरी क्षेत्रमा पनि अव्यस्थित सडक, ढल तथा अन्य आवश्यक पूर्वाधारको अभाव आदि प्रमुख समस्याका रुपमा देखिएको उल्लेख गरे । रासस