“पर्यटन, कृषि सडक र युवा उद्यमशीलता“ कास्की वामगठवन्धनको प्राथमिकता

८ मंसिर २०७४, शुक्रबार १०:३८

मंसिर ८, कास्की ।
निर्वाचनमा दलहरुले साना ठूला नयाँ प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यसै क्रममा कास्की निर्वाचन क्षेत्र नम्वर ३ का वाम गठबन्धनका उम्मेदवारले आफूहरु निर्वाचित भएको खण्डमा जिल्लामा वाम गठबन्धनका तर्फबाट पाँच वर्षको अवधिमा सम्पन्न गर्ने योजनाको सामूहिक प्रतिवद्धता सार्वजनिक गरेका छन् । गठबन्धनमा आबद्ध दलका उम्मेदवारले कास्की क्षेत्र नं ३ पर्यटन, कृषि सडक र युवा उद्यमशीलतालाई प्राथमिकता दिँदै सामाजिक रुपान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरिएका हुन् ।

जिल्लाका ग्रामिण क्षेत्रमा प्राविधिक शिक्षालय स्थापना गर्दै गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वच्छ पिउने पानीलाई प्राथमिकतामा राखिएको उनिहरुको सामूहिक स्वर रहेको छ ।

प्राकृतिक स्रोत र साधन संरक्षण गर्दै पर्यटकीय केन्द्र बनाउने एजेन्डा एकातिर अघि सारिएको छ भने अर्कोतिर पोखराको फेवाताल, लेकसाइड, सराङ्कोट, कास्कीकोट, घान्द्रुक, लान्द्रुक, धम्पुस, लुम्ले, पञ्चासेलगायतका अन्य पर्यटकीय क्षेत्रको विकास र समृद्धिमा विशेष पहल गरिने उल्लेख छ ।

प्रत्येक गाउँ, वडा र टोल जोड्ने सडक निर्माण गर्नुका साथै कच्ची सडकहरु स्तरोन्नति गर्दै चक्रपथ निर्माणको नीति लिइएको छ। सम्भाव्यताको आधारमा सुरुङमार्ग, केबुलकार सञ्चालन प्राथमिकतामा परेको छ ।

कास्की क्षेत्र नं ३ बाम गठबन्धनका साझा उम्मेदवार जगत विश्वकर्माले मुलुकको विकासका लागि स्थायी सरकारको नेतृत्व र भूमिका वाम गठबन्धनले गर्नु अपरिहार्य रहेको बताए ।