“निर्वाचनले आशा जगाएर पूर्णता नपाउँदा निराश पाल्पाली जनता”

५ मंसिर २०७४, मंगलवार ०९:१९

पाल्पाबाट पत्रकार प्रकाश नेपालको सहयोगमा शशिशेखर घिमिरेको साम्रार्गी

 

पाल्पामा पनि चुनावी माहोल तात्दै गएको छ । दोश्रो चरणको मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनकोलागी प्रभावशाली नेताहरुको उम्मेदवारीले पाल्पाली जनतालाई उत्साहीत वनाएको छ भने विकासको प्रतिक्षामा रहेका जनता निर्वाचनसंगै परीवर्तनको अपेक्षामा पनि रहेको पत्रकार प्रकाश नेपालले गरेको स्थलगत रिपोटिङले देखाएको छ ।

 

गाँउ गाँउमा चुनावी माहोल बढेको छ भने चुनाव नजिकिदै जाँदा नेताहरु आफ्नो पक्षमा मतदान गर्न आग्रहका साथ सहरदेखि गाउँगाउँमा पुगेर आफ्ना घोषणापत्र बाँडिरहेका छन  । निर्वाचनमा पाल्पाली जनता समक्ष साझा मुद्धाको रुपमा सिद्धबाबा पहिरो हुने गरे पनि निर्वाचन सँम्पन्न भएसंगै त्यो एजेण्डा ओझेलमा पर्ने गरेको छ । तरकारीको प्रचुर संभावना रहेको पाल्पामा करोडौको तरकारी उत्पादन हुने भएपनि त्यसले उचित बजारीकरण पाउन सकेको छैन । तरकारी भण्डारण गृहको कूरा पनि निर्वाचनको अघिपछि राम्रै हुन्छ, कार्यान्वयनमा आउन भने सक्दैन् । त्यसैले त विषय ओझेलमा र्नै पर्दा किसानको वर्षौको समस्या यथावत् छ । करौंडौको अदुवा उत्पादन हुने जिल्लामा सवै दलहरुको साझा मुद्याको रुपमा अदुवा प्रसोधन केन्द्र पनि पर्छ , तर त्यो पनि आश्वसनमै वित्दै आएको छ ।

 

तेजपातको लागी समेत संभावना राम्रो भएको पाल्पामा किसानले कि तेजपात त कम मूल्यमा बेचेर पठाउनु पर्ने हुन्छ, कि त त्यतिकै कुहाउनु पर्ने हुन्छ ,त्यसको प्रशोधन केन्द्र निर्माणकोलागी जनताले नेतालाई अनुरोध र आग्रह गरेको धेरै भएपनि त्यसले पूर्णता नपाउँदा जनताहरुलाई निर्वाचन कागलाई बेल पाक्यो हर्ष न विष्मात झै भएको भान हुन थालेको छ । रोचक पक्ष त के हो भने कालीगण्डकी डाईभर्सनले चुनावको समयमा राम्रै स्थान पाँउछ । तर वर्षौसम्म पनि त्यही कालीगण्डकी डाईभर्सनको मुद्या उचाल्न भने नेताहरुले छाडेका छैनन् । कृषिको राम्रो संभावना रहेको पाल्पामा सिंचाईको अझ राम्रो व्यवस्था भएको खण्डमा आफनो पाखो बारी साहूकोमा बन्धकी राखेर खाडीमा सस्तो श्रम गर्न गईरहेका युवाहरुलाई राजनीतिक दलका नेताहरुलाई कमै छोएको देख्न सकिन्छ । अर्कोतिर वर्षौसम्म उहि पुराना अनुहारका नेताहरुको गुलिया भाषण  सुन्दा -सुन्दा कान ट्टाएको बताउने मतदाताहरुको चुलिदो नैराश्यतालाई बुझने नेताकै अभावमा पाल्पाली जनताले थुप्रै हिउँद र वर्षा विताएको धेरै भयो । उनिहरुको आवश्यक्तालाई बुझेर पनि नबुझेको जस्तो गरि मौनता साँधेर निर्वाचनको बेला मात्रै जनताको घरदैलोमा पुग्ने नेताहरुले जनताको वर्षौदेखिको विकासप्रतिको उत्कट चाहानालाई कहिल्य पो पूरा गर्लान् ?

 

निर्वाचनको अघिपछि मात्र गाँउ पुग्ने नेताहरुप्रति आमजनताको रुझान एकातिर छ भने अर्कोतिर निर्वाचनले जनतालाई अनुभूत गराउन नसकेको परिवर्तनले पनि जनतालाई निर्वाचनप्रतिको मोह घटउदै लगेको आँकलन गर्न गाह्रो छैन पाल्पामा । भौगौलीक विकटताका कारण पनि पाल्पा जिल्लामा गाँउ गाँउ सम्म स्थानीयले एउटा पक्कि बाटो र पुलको अभावमा कैयौं कष्टकर हिउँद र बर्षा विताउन परिरहेको यर्थाथलाई निर्वाचनको पूर्वसन्धयामा हूलका हूल कार्यकर्ता र सोझा जनतालाई झण्डा मात्र बोकाएर अघिपछि लगाउने पार्टी तिनका नेता र कार्यकर्तालाई कहिल्य छुने ? निर्वाचन संगै जनतामा एककिसीमको खुशीको संञ्चार हुने गरेको छ । नेताहरुको जीत र हारको जोडघटाउ र बखानले गाँउका अधिकांश चियापसलहरु तातेका हुन्छन् । अघिपछि प्रतिव्यक्ति एककप चिया बिक्ने पसलहरुमा प्रतिव्यकि तीन कप सम्म चिया बिक्दा व्यापारीलाई त खुशी लाग्छ । तर समयसंगै विकासको आशा देखाएर चुपचाप सत्तामा पुगेर भत्ताको गुलियो मात्र चुसिरहने नेतालाई स्थानीयले खुलेर न केहि सोध्न सक्छन् न केहि भन्न नै । जनताले दुई हात जोडेर भोट माग्ने र मतदाताले निर्वाचनको दिन मताधिकार प्रयोग गर्नु मात्र लोकत्रन्त हो त ? के नेपाल जस्तो मुलुकको लागी निर्वाचन एउटा सुनौलो बिहानी बनेर आउन पर्देन् ? के निर्वाचनले जनताको वर्षौदेखिको विकासे आवश्यक्ता र मुद्यालाई सम्वोधन गर्न पर्दैन् ?

 

मूलतः पाल्पा जिल्लामा बामगठवन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै प्रतिस्पर्धा देखिएको छ । गठबन्धनका तर्फबाट एमालेका नेता तथा पूर्वमन्त्री सोमप्रसाद पान्डे, पूर्वमन्त्री दलबहादुर राना र लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका नेता हरिप्रसाद नेपाल र नेता विजय राज घिमिरे रहेका छन् । पाल्पा जिल्लामा ३ निर्वाचन क्षेत्र रहेकोमा अहिले २ मात्र कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यलय पाल्पाका अनुसार अहिले जिल्लामा १ लाख ८१ हजार २ सय ५३ मतदाता रहेका छन् । जसमा क्षेत्र नं १ मा ८५ हजार ९ सय ८३ र क्षेत्र नं २ मा ९५ हजार २ सय ७० रहेको जिल्ला निर्वाचन कार्यलय पाल्पाले जनाएको छ । जिल्लामा मतदानस्थल १ सय १८ र मतदान केन्द्र २ सय २६ तोकिएको जिल्ला निर्वाचन कार्यलय पाल्पा बताउँछ ।

क्षेत्र नं १ मा राना र घिमिरेको प्रतिस्पर्धा जिल्लाको क्षेत्र नं १ मा एमालेका पूर्वमन्त्री दलबहादुर राना र कांग्रेसका नेता विजयराज घिमिरे सहित ५५ जनाले उम्मेदवार दिएका छन् । प्रतिनिधि सभाको लागि २२ जना र प्रदेश सभामा ३२ जना चुनावी मैदानमा उत्रिएका छन् । तर उनीहरुको बाहुल्यता कम रहेको भए पनि एमाले र माओवादीबीच भएको गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच प्रतिस्पर्धा देखिएको छ ।स्थानीय निर्वाचनको मतलाई हेर्ने हो भने एमालेका २६९१४ र माओवादीको २७४२ गरी २९६८२ रहेको छ। कांग्रेसको २००१६ र राप्रपाको केही मत रहेको छ। यस आधारमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका बीचमा ९००० भन्दा बढीको फरक देखिएको छ।

स्थानीय तहमा गाउँका मान्छेलाई हेरेर मतदान गरेका थिए भने अहिले त्योभन्दा फरक रहने बताएका छन्। यो क्षेत्रमा जनमोर्चाले वालबहादुर दर्लामीलाई प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ। पाल्पा जिल्लाको क्षेत्र नं २ मा वाम गठबन्धको तर्फबाट एमालेका पूर्वमन्त्रीसमेत रहेका सोमप्रसाद पाण्डे र कांग्रेसका नेता एवं निर्वतमान सभासद हरिप्रसाद नेपालबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।दुवै गत निर्वाचनका विजयी उम्मेदवार हुन्। यस क्षेत्रमा ९५ हजार २ सय ७० मतदाता रहेका छन्। दुवै गत निर्वा्चित जनप्रतिनिधि रहेकोले दुवैलाई शाख जोगाउने चिन्ता रहेको छ।

स्थानीय चुनावमा वाम गठबन्धको तर्फबाट उम्मेदवार भएका पाण्डेको ३८ हजार ४ सय १३ र माओवादीको १५ हजार १ सय ३३ मत रहेको छ। दुवैको कुल ५३ हजार ५ सय ४४ मत रहेको छ।लोकतान्त्रिक गठबन्धको तर्फबाट उम्मेदवार रहेका नेपालको ३७ हजार १ सय ४९ मत रहेको छ। स्थानीय चुनावको मतलाई हेर्ने हो भने १६ हजारको मतान्तर रहेको देखिन्छ। राष्ट्रिय जनमोर्चाले पनि यो क्षेत्रमा प्रतिनिधि सभासदस्यमा उम्मेदवारी दिएको छ। प्रतिनिधि सभा सदस्यका लागि पहलसिंह सिजालीलाई उम्मेदवार बनाएको छ। जनमुक्तिले धनकेशर सुर्यवंशी लगायतले उम्मेदवार दिएका छन् ।