मंसिर ४, काठमाडौं । आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेद्वार लक्षित बम विस्फोट र आक्रमणका घटना नरोकिए अन्तिम शक्तिका रुपमा नेपाली सेनाले मौन नबस्ने संकेत गरेको छ ।
चुनाव प्रचारमा रहेका उम्मेद्वारमाथी निरन्तर बम आक्रमण भइरहेको घटनाप्रति जानकार रहेको बताउँदै सेनाले आक्रमणलाई मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउन खोज्ने उच्छृंखल क्रियाकलापको संज्ञासमेत दिएको छ । यस्ता घटनाले आफुहरुलाई सचेत रहन बाध्य तुल्याएको पनि सेनाले उल्लेख गरेको छ ।
आक्रमणका दोषीलाई कारवाही र घटना नियन्त्रणमा प्रशासन असफल देखिँदै गएपछि सेनाले सक्रियता बढाउने संकेत गरेको हो । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको काबुबाहिरको परिस्थिति सिर्जना भएमा प्रमुख जिल्ला अधिकारीको आग्रहमा सेना परिचालन हुनेछ ।’ रक्षा मन्त्रालयमा आईतबार सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भने, ‘पहिलो चरणको निर्वाचनका लागि सेना परिचालन भइसकेको छ, राजनीतिक आमसभाहरुमा भीडन्त भए, आक्रमण भए वा असहज परिस्थिति देखिएमा सेना स्थल वा हवाई दुवै रुपमा सक्रिया रहन्छ ।’
उनले निर्वाचनमा सेनाको तेस्रो घेरामा रहेको समेत स्पष्ट पारे । उनले सेनाले संविधान र कानुनले निर्दिष्ट गरेको जिम्मेवारी बहन गर्ने बताए । ‘निर्वाचन हुन नदिने, मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने समूहले यो विस्फोट गराएको हुन सक्छ, सम्बन्धित निकायबाट यो विषयमा प्रष्टिकरण आउला तर विस्फोट भएको विषयमा सेना जानकार छ,’ प्रधानसेनापति क्षेत्रीले भने ।
उनले अहिले उम्मेद्वारको सुरक्षा केन्द्रित रहेर नेपाली सेना परिचालन नभएको पनि स्पष्ट पारे । आम मतदातामा सुरक्षाको पूर्ण प्रत्यभूत गराउँदै निर्वाचनको सुरक्षा एवं विश्वासनीय गर्नुको साथै मतपत्र छपाई, ढुवानी जस्ता काममा नेपाली सेनाले सुरक्षा दिँदै आएको छ,’ प्रधानसेनपतिले भने । अहिलेसम्मको गृहकार्यअनुसार नेपाली सेनालाई मतदान केनद्रसम्म र मतदाताको प्रत्यक्ष सम्पर्कमा जान नदिइने गरी सुरक्षा रणनीति बनेको छ । मतदान केन्द्रको करिब साढे दुई किमिको दूरीबाटै सेनाले सुरक्षा दिनेछ । मतदान केन्द्रबाहिर दोस्रो घेराको सुरक्षा सशस्त्र प्रहरी र नेपाल प्रहरीले गर्नेछ ।
यस्तै, निर्वाचन सम्पन्न भएपछि मतपेटिका ओसारप्रसारको जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी संयुक्त रुपमा लिनेछन् । दुबै प्रहरीले सुरक्षा दिन नसकेमा तेस्रो घेरामा रहेको नेपाली सेनाले सुरक्षा दिनेछ । –राजधानी दैनिकबाट