शनिबार अज्ञात समुहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त

३ मंसिर २०७४, आईतवार ०३:१०

मंसिर ३, भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१३ भीरथाप्लामा गएराति टाइम बम विस्फोट भएको छ। शनिबार अज्ञात समुहले राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त समेत भएको थियो।

भिडन्तका क्रममा तीन घाइते भएका छन्। एक जनाको अवस्था गम्भिर छन् भने दुई जना प्रहरी जवानको अवस्था सामान्य रहेको छ। गम्भिर घाइते ट्याम्के मैयुङ गाउँपालिका–७ कोटका विक्रम राईलाई थप उपचारका लागि धरान लगिएको छ। भोजपुर अस्पतालमा उपचार हुन नसकेपछि राईलाई शनिबार रातिनै धरान रिफर गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।  घाइते राई एमाले गाउँ कमिटि कोटका सचिव हुन् भने युवा संघ भोजपुरका सचिवालय सदस्य समेत हुन्। बमको छर्राले उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। त्यस्तै प्रहरी सहायक निरीक्षक उमेश मेहेता र प्रहरी जवान देवनारायण चौधरी पनि घाइते भएका छन्।

 

अज्ञात समुहले बम राख्दै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। बम राखेको खबर पाउदासाथ घटना स्थल पुगेको टोलीले बम हटाउन खोज्दा बम राख्ने समूहले बाटो माथिबाट गोली चलाएका थिए। अज्ञात समुहले गोली चलाएपछि प्रहरीले जवाफी कारबाहीमा १९ राउन्ड गोली चलाएको थियो। बम कस्ले र किल राखेको भन्ने बारे नखुलेको प्रहरीले जनाएको छ।