नौजनालाई बिन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार

१ मंसिर २०७४, शुक्रबार ०२:५८

मंसिर १ पोखरा। ‘बिन्ध्यवासिनी कला पत्रकारिता पुरस्कार–२०७४’ नौजना पत्रकारलाई प्रदान गरिने भएको छ । गीत–संगीत क्षेत्रको विकास र संगीतककर्मीको हितका लागि स्थापित बिन्ध्यवासिनी फाउण्डेशनले पोखराका पत्रकार विजय नेपालसहित देशभर नौजना पत्रकारलाई उक्त पुरस्कारबाट सम्मान गर्न लागेको हो ।

भोलि मंसिर २ मा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिन्ध्यवासिनी सम्मान तथा संगीत साँझमा पत्रकार नेपालसँगै अमरध्वज लामा, अनुपा श्रेष्ठ, विष्णुप्रसाद गौतम, ध्रुव लम्साल, जीवन पराजुली, मधु शाही, प्रतिमा श्रेष्ठ र रीता लिम्बूलाई नगदसहित सम्मान गर्ने फाउण्डेशनकी अध्यक्ष लीना शर्मा रेग्मीले जानकारी दिए ।   त्यस्तै, ‘बिन्ध्यवासिनी संगीत साधना सम्मान—२०७४’ बाट वरिष्ठ गायक दीप श्रेष्ठलाई रु ५० हजारसहित सम्मान गरिनेछ । मुक्तिनाथ विकास बैंकको प्रस्तुति आठौँ संस्करणको बिन्ध्यवासिनी म्युजिक अवार्ड–२०७४ मा ३२ विधाको मनोनयनमा पर्ने संगीतकर्मीको सोही कार्यक्रममा नामावली घोषणासहित प्रमाणपत्र प्रदान गरिने फाउण्डेशनका सदस्य सुवास रेग्मीले बताए ।

 

अवार्ड कार्यक्रम पुस १५ गते भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुनेछ । कार्यक्रममा बिन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड, बिन्ध्यवासिनी संगीत रत्न सम्मान, बिन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान र बिन्ध्यवासिनी चलचित्र सम्मानसमेत प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।