भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द

३० कार्तिक २०७४, बिहीबार ०५:१५

कात्तिक ३०, काठमाडौं । भुटानी शरणार्थीको तेस्रो मुलुक पुनर्वासको नयाँ प्रक्रिया बन्द भएको छ ।

झापाको दमकमा रहेको शरणार्थीसम्बन्धी संयुुक्त राष्ट्रसंघीय उच्च आयोग दमक शाखामा बुधबार भएको शरणार्थी र दातृ निकायबीचको छलफलमा उच्च आयोगका अधिकारीले पुनर्वास प्रक्रिया बन्द गरिएको जानकारी दिएका हुन् ।   छलफलमा भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीका शिविर व्यवस्थापन समितिका सचिव, सहायक सचिव, पूर्वसचिव र अन्य जिम्मेवार पदका पदाधिकारी, उच्च निकाय युएनएचसीआर र पुनर्वाससम्बन्धी अमेरिकी सरकार प्रतिनिधिबीच छलफल भएको थियो ।

 

छलफलमा सहभागी बेलडाँगी शिविरका सचिव टीकाराम रसाइलीका अनुसार तेस्रो मुलुक स्थानान्तरण रोकिएपछि अब के हुन्छ भन्ने प्रश्नमा स्वदेश फिर्ती हालसम्म सम्भव नदेखिएको र स्थानीयकरणमा जोड दिइएको थियो ।  त्यसक्रममा स्वदेश फिर्तीबारे पहल भइरहे पनि तत्काल हुन सम्भव नदेखिएको युएनएनएचसीआरका एक अधिकारीले उल्लेख गरे । बाँकी रहेका भुटानी शरणार्थीका विषयमा युएनएनएचसीआरले नेपाल सरकारसँग स्थानीयकरणका विषयमा समेत छलफल भएको पथरी शिविरका सचिव चम्पासिंह राईले बताए ।

पुनर्वासका लागि नयाँ फारम भर्न बन्द गरिए पनि पारिवारिक पुनर्मिलनका लागि अमेरिकी सरकारले परिवारको सदस्यमार्फत गरिने राहदानीबाट आफ्ना सदस्य भने लानसक्ने बताइएको शिविर व्यवस्थापन समितिका सल्लाहकार युवराज साङपाङले जानकारी दिए । पछिल्लो समय भुटानी शरणार्थी शिविर बेलडाँगी र पथरीमा गरी करिब नौ हजारको संख्यामा भुटानी शरणार्थी रहेको युएनएचसीआरले जानकारी दिएको छ ।