कात्तिक २६, काठमाडौं । कैलालीमा शनिबार राती भएका छुट्टाछुट्टै चार वटा दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।
कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । बैतडीको मेलौलीबाट कन्चनपुरको भीमदत्तनगर जाँदै गरेको पवनदूत यातायातको ना. ७ ख २७२३ नम्बरको बस सडकबाट तल खस्दा दुर्घटना भएको हो ।दुर्घटनामा घाइते भएका २७ जनामध्ये तीन जनाको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीडाँडाका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । घाईते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यसैगरी पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिकामा से १ प १७०२ नम्बरको जिपले से ४ प ७५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक प्रहरी हवल्दार गजेन्द्रसिंह ठगुन्नाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । यसैगरी कैलालीकै गोदावरी नगरपालिको गोदावरी भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी बाजुराकी ३५ वर्षीया ललिता जोशीको मृत्यु भएको छ । यस्तै जानकी गाउँपालिकाको वडा नं. ५ पथरैयामा से १ त ९२५३ नम्बरको ट्याक्टर पल्टिँदा चालक प्रदीप चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

