कात्तिक २६, काठमाडौं । बाम गठबनधनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओबादी केन्द्रले मंसिर १० गते हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन अगावै पार्टी एकीकरण हुने भएको छ ।
निर्वाचनमा गठबन्धन गरी देशभर उम्मेद्वारी दिएका दुई पार्टीबीच भावनात्मक रुपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरुबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणको अन्तिम तयारी भईरहेको हो ।
निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बाहेक अन्य स्थानमा पहिलो चरण निर्वाचनले निर्वाचनको मौन अवधिमा पनि सभासमारोह गर्न, दलहरुबीच एकता या गठबन्धन गर्न आचारसंहिताले नरोक्ने जवाफ दिएपछि दुईपार्टी पहिलो चरणअगावै एकता घोषणाको तयारीमा जुटेका खबर आजको राजधानी दैनिकमा छापिएको छ । निर्वाचन प्रचार अभियानबीच दुवै पार्टीका शीर्ष नेताहरु फोन, गोप्य भेटघाटमार्फत एकता घोषणलाई अन्तिम रुप दिन छलफल गरिरहेका छन् । पार्टी एकता तयारीका लागि बनाईएको उच्चस्तरिय एकता संयोजन समिति र कार्यदलमार्फत दुई पार्टीबीच रहेको शैद्धान्तिक र नीतिगत मतभेदसहित नेतृत्व र नेता व्यवस्थापनका विषयमा अन्तिम चरणको कुराकानी भइरहेको एमालेका एक शीर्ष नेताले बताए ।
पहिलो चरणको निर्वाचन मिति सम्मुखमा पार्टी एकीकरणको घोषणा गर्न दुवै पार्टीका शीर्ष नेता लागी परेका छन् । स्रोतका अनुसार उनिहरुले पहिलो चरणको निर्वाचनबाटै बाम गठबनधनको उम्मेद्वारको पक्षमा अत्यधिक मत खसोेस्, कार्यकर्ता तहमा विश्वास पैदा होस भन्ने उद्देश्यका साथ पार्टी एकीकरण घोषण गर्न लागेका हुन् । समयमै पार्टी एकीकरणको घोषण भए गठबन्धनको पक्षमा दुई तिहाई पुग्न सक्ने आँकलन गर्दै दुवैतर्फ नेताकार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा लाग्न प्रेरित होऊन् भन्ने उद्देश्य राखिएको छ, एमाले उच्च स्रोतले भन्यो–पहिलो चरणको मतदान हुन नपाउँदै पार्टी एकीकरणको घोषणा भए त्यसले दोस्रो चरणको निर्वाचनमा समते प्रभाव पार्नेछ ।
माओवादी केन्द्रका शीर्ष तहका नेताहरु समेत घोषणाको तयारी भइरहेको बताउँछन् । पहिलो चरणको निर्वाचन आउन दुई साता बाँकी रहँदा निर्वाचन प्रचारका कामलाई तीब्रता दिनुपर्ने भएका कारण संयोजन समिति र कार्यदलका केही नेता व्यस्त भएपछि शीर्ष नेताबीच एकता घोषणाको तयारीलाई अघि बढाइएको उनीहरु बताउँछन् ।
पार्टी एकीकरण घोषण अघि समानुपातिक उम्मेद्वारहरुको व्यवस्थापन तथा पार्टी शीर्ष नेताहरुको व्यवस्थापन र नेतृत्वका विषयमा छलफल भईरहेको छ । पार्टी एकीकरणको लागि बनेको एकता कार्यदलले अहिले सो विषयलाई कसरी टुंगो लगाउने भन्ने बारे छलफल गरिरहेको छ । घोषणापछि नेतृत्व कसरी र कसले गर्ने भन्ने विषयलाई भने नेताहरुले अझै गोप्य राखेका छन् । एकता संयोजन समितिमा एमालेका तर्फबाट पार्टी अध्यक्ष केपी ओली, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव ईश्वर पोख्रेल छन् । माओबादी केन्द्रका तर्फबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । यो समितिमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई समेत सदस्य थिए । निर्वाचन प्रतिष्पर्धा गर्ने क्षेत्रका विषयमा माओवादी केन्द्रसंग मतभेद भएपछि उनी गठबनधन छोडेर एक्लै चुनावी मैदानमा छन् । दुई पजार्टीबीच जनताको बहुदलीय जनवादमा कुरा मिलिसकेको र जनयुद्ध स्वीकारेर जाने कि आन्दोलनका रुपमा व्याख्या गर्ने भन्ने विषयमा बहस जारी रहेको स्रोतले जनाएको छ ।